बिहानको झिसमिसे र रातको १० बजै अगि बिरलै चोकको अनुहार राम्रोसँग देख्न पाइन्छ काठमान्डुमा। रङबेरङका दुइ/तीन/चारपाङ्ग्रे सवारीहरु,पैदलयात्रुहरु,ठेलागाडा तथा गाईवस्तुको सङ्म बन्छन् चोकहरु। अधिकांश नियमको परवाह नगरी चल्ने सवारीहरु र त्यसरी नै मनलाग्दी हिँड्ने पैदलयात्रुले गर्दा जामको पर्याय बन्छन चोकहरु। स्वचालित ट्राफिक बत्ती नभएर (भए पनि नियम माने त हो 😉 )मान्छेले सङ्केत गरेर चलाउनु पर्ने यो व्यवस्था कति जटिल छ तलका चित्रहरुमा कलङ्की चोक र यसमा हुने सवारी आवागमनको प्रवाह (Traffic maneuvers) हेरेर बुझ्न सकिन्छ।

kalanki
कलङ्कीको सवारी प्रवाह

यो चोकमा एकपटकमा सवारी-साधनहरु करिब बाह्र दिशामा (चित्रमा अंकित गरे अनुसार) जान मिल्ने गरि लामबद्ध भएर बसेका हुन्छन। अहिलेको स्थितिमा सुहाउँदो ट्राफिक नियम नभएको कारणले यहाँको सवारी आवागमन अस्तव्यस्त छ ।  सवारीधनीहरुले आफु मनपरी सवारी चलाउने कारणले व्यवस्थापन गर्न हम्मे-हम्मे पर्छ। त्यसमाथि भएको आकाशे-पूल (Overhead bridge) नि भत्कईदिएपछि पैदल-यात्रुहरुले जथाभावी बाटो काट्ने गर्दा यातायातमा थप अवरोध पुगेको छ । यिनै कारणहरुले यात्रा असुरक्षित बन्नुका साथै बहुमुल्य समय ट्राफिक जाममा खेर जान्छ । अझ धुलो-धूँवा र अनावश्यक ‘हर्न ‘ बजाउने चलनले जोसुकैको पनि यात्रा कष्टकर बनेको छ।गम्भीर भएर सोच्ने हो भने अब यहाँ को ट्राफिक व्यवस्थित बनाउनुको विकल्प छैन ।

परम्परागत रुपमा बनाइएका चोकहरु जसलाई ट्राफिक प्रहरी वा बत्तीको सहाराले नियमन गर्नुभन्दा Roundabout बनाएर व्यवस्थापन गर्ने प्रचलन अहिले बढेर गएको छ। बुझौँ न त कस्तो हुने रहेछ चोकको यो नयाँ अनुहार।

२०औँ शताब्दीको सुरुमा अमेरिकामा Rotary को रुपमा सुरुवात गरिएको circular intersection को परिमार्जित रुप अहिलेको roundabout लाई लिन सकिन्छ। उक्त समयमा पहुँचमार्गबाट आउने सवारीलाई प्राथमिकता दिने नमिल्दो नियमका कारण अनुपयुक्त देखिएकोमा १९६०को दशकमा बेलायतबाट Roundabout को प्रचलन आएको हो। मुल घुम्तीमा रहेका सवारीलाई प्राथमिकता दिने नियमसँगै सजिलो व्यवस्थापन र कम दुर्घटना हुने भएकोले roundabout अरु देशमा पनि प्रयोगमा ल्याइन थालियो। १९९२ तिर नेदरल्यान्डसमा गरेको अध्ययनले roundabout प्रयोगले ५१% दुर्घटना कमी भएको पाइयो भने जर्मनी, फ्रान्स, अस्ट्रेलिया लगायतका देशमा भएका अध्ययनले पनि परम्परागत चोकभन्दा यसलाई नै सुरक्षित भएको ठम्याएका छन्।

सामान्य रुपमा बुझ्दा Roundabout भनेको चोकको बिचमा गोलो ट्राफिक आइल्यान्ड बनाएर सवारीलाई त्यसको वरिपरि कम गतिमा घुमेर गन्तव्यतिर लाग्न सहज बनाउने सिस्टम हो। साधारण चोकमा जस्तो एउटा छेउबाट अर्को छेउसम्म सिधा जाने र दायाँ वा बायाँ जाँदा ठूलो घुम्ती Roundabout मा हुँदैन।

roundabout_design21
Roundabout सामान्य जानकारी (स्रोत: http://www.dot.state.mn.us)

माथिको चित्रबाट Roundabout बारे धेरै प्रस्ट हुन्छ, यहाँ ४ दिशाबाट आएका सवारीहरु चाहेको गन्तव्यमा बिचको मूल घुम्ती  वरिपरि घुमेर सजिलै जान सक्छन्। मूख्य घुम्तीमा रहेका सवारीको अवस्था हेरेर बाहिरका पहुँचमार्गका सवारीको प्रवाह आँफै नियन्त्रित हुने हुँदा सामान्यतया ट्राफिक जामको सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन्।

नियमअनुसार मूल घुम्तीमा छिरिसकेका सवारी, बाहिरबाट आउने भन्दा प्राथमिकतामा पर्ने हुनाले, यहाँ बाह्य पहुँचमार्गबाट आउने सवारीले मूल घुम्तीमा सवारी भरि हुने बेलासम्म तोकिएको yield line भन्दा पछाडि बसेर कुर्नुपर्छ। मूल घुम्तीमा छिरेपछि भने तोकिएको गतिमा चाहेको गन्तव्यमा जान सकिन्छ।

फाइदाहरु

१. सुरक्षित सवारी आवागमन

कम गति र मूल घुम्तीमा छिर्नु पहिले रोकेर हेर्नुपर्ने हुँदा सुरक्षित आवागमन हुन्छ।साधारण intersection मा भन्दा roundabout मा सवारी र पैदलयात्रूको बिच कम टकराव हुनाले पनि यो बढी सुरक्षित हुन्छ।

round-vs-inter
चोक र Roundabout मा हुनसक्ने सम्भाव्य टकराव
intersection-vs-roundabout
सम्भाव्य टकरावहरु

२.कम दुर्घटना

घुमेर जानुपर्ने भएकोले सवारी सिधै ठोकिने सम्भावना कम हुन्छ त्यस्तै कम स्पिडमा चालकले रियाक्सन गर्ने समय पनि प्रशस्त पाउँछन।

roundabout_safety_graph_510px
Roundabout प्रयोगबाट कम भएको दुर्घटनाहरु

३.कम ट्राफिक जाम

मूल घुम्तीमा छिर्नु अगाडि बाहेक कुनै पनि बेला सवारी रोक्नु पर्दैन, त्यसैले जाम हुने सम्भावना कम हुन्छ।

४. सस्तो निर्माण र सन्चालन

बत्ती लगायतमा सिग्नल दिने साधन जडान गर्नु पर्दैन, साथै विशेष परिस्थिति बाहेक मानविय नियमन पनि आवश्यक नहुने हुँदा निर्माण र सन्चालन कम खर्चमा हुन्छ।

५. कम जग्गा खपत

आलोचना

माथिका फाइदाका बाबजुद पनि Roundabout लाई साइकल तथा पैदलयात्रुमैत्री नभएको भनेर आलोचना गर्ने गरिन्छ।

यस आलोचनालाई समाधान गर्न yield line भन्दा पछाडि पैदल यात्रुलाई बाटो काट्न जेब्रा क्रसिङको व्यवस्था गरिन्छ जुन ठाउँ साइकल चालकले पनि प्रयोग गर्न सक्छन।

माथिका फाइदाहरु हेर्दा, कलङ्कीजस्ता चोकमा Roundabout ट्राफिक व्यवस्थापनको राम्रो उपाय हुनसक्छ, तर ध्यान दिनै पर्ने कुरा के भने सडक प्रयोगकर्ताले ट्राफिक नियम भने पालना गर्नुपर्‍यो

यो फोटोको जस्तो कलङ्की चोकलाई नयाँ अनुहार कसले कहिले दिने होला?

kalanki1
अहिलेको कलङ्की

अन्तमा, Roundabout को प्रयोग सवारी साधनले कसरी गर्छन भनेर यो gif हेरौँ न त।

uk_roundabout_8_cars
Roundabout मा कसरी हुन्छ त सवारी आवागमन प्रवाह (maneuvers) (स्रोत: wikipedia.org)

(यो लेख ट्विटरमा @beeshalll को कलङ्की चोकको अव्यवस्थासम्बन्धी  चित्रसहितको ट्विटमा आधारित भएर तयार पारिएको हो, सामग्री तथा सोचको लागि विशाल  @beeshalll , @pxwxy तथा @kay_ksh लाई  धन्यवाद।)

 

Advertisements