(GMO, यसको वैज्ञानिक आधार, विदेश र नेपालमा रहेका नीतिनियमका व्यवस्था र यसैसँग जोडिएका अर्ग्यानिक खेती र कृषिप्रविधि सम्बन्धित लेखश्रृङ्खलामा दोस्रो भाग आज प्रकाशित गरिएको छ, बाँकी भागहरु क्रमश: प्रकाशित हुनेछन्, कृपया  लामो सास  लिएर बस्नुहोला।😏)

GMO, भ्रम र यथार्थ बारे लेखेपछि केही प्रतिक्रियाहरु आएका थिए। पहिले यिनीबारे छोटकरीमा प्रष्ट्याउन चाहन्छु।

१.पढेलेखेका मान्छेहरुमा पनि के भ्रम रहेछ भने ब्याक्टेरिया मार्फत बनाइएको GMO हानिकारक हुन्छ। ‘यसरी बनाइएको GMO के हो के हो, भर पर्न सकिन्छ र!’ भन्ने कुरा मुख्य थियो। मेरो विचारमा चाहिँ यो डर ‘ब्याक्टेरिया’ शब्द सुनेर आत्तिएकोले होला। नत्र, ब्याक्टेरिया हाम्रो मुखमा छन, पेटमा छन, हामीले खाने खानेकुरामा छन, सबैतिर छन। ब्याक्टेरिया हामीले खान्छौँ, उनीहरुले हाम्रो खाना खान्छन…. यो हाम्रो उत्पत्तिदेखि नै चल्दै आएको कुरा हो। त्यसमाथि कतिपय खानेकुरा त ब्याक्टेरिया प्रयोग गरेरै बनाउदछौँ (दही, गुन्द्रुक, आदि)। डर मात्र हो, मेरो विचारमा।

र अर्को कुरा, ब्याक्टेरिया प्रयोग गरेर GMO बनाइएको छ भने यो ब्याक्टेरिया उक्त GMO मा रहने हैन। ब्याक्टेरियाको काम त केवल हामीले घुसाउन चाहेको जीन कोषमा पुर्‍याउन हुलाकीको काम गर्न मात्र हो। यो काम गर्दा ब्याक्टेरियाकै जीन घुस्ने सम्भावना निकै कम हुन्छ। घुसे पनि जेनेटिक प्रविधि (markers) प्रयोग गरेर यिनलाई फाल्न (deselect) गर्न सकिन्छ।

अनि अर्को कुरा, GMO लाई ‘पास’ गराएर खेतसम्म पु-याउने बेलासम्ममा पचासौँ परीक्षणहरु गरेर, लाखौँ विरुवाहरु, करोडौँ बीऊहरु जाँचेर मात्र पठाइन्छ। त्यसैले खानेकुरा हाम्रो थालसम्म आइपुग्दा केही हानिकारक तत्व रहन्नन्। यसरी जाँच गर्दा मानवलाई मात्र पुग्ने हानि नभएर वातावरण (पानी, माटो, हावा) लाई पनि हानि पुग्छ-पुग्दैन, त्यो पनि जाँच हुन्छ। सबैलाई कुनै हानि नहुने पुष्टि पटकौँ पटक भइसकेपछि मात्र GMO लाई आधिकारिक रुपमा बजारतिर जान अनुमति दिइन्छ।

तर बुझाउँदा पनि मान्छेमा भ्रम र डर रहन्छ भने यिनीहरुलाई आफैँ बिस्तारै बुझ्न दिनुपर्छ। ☺

२.अचेल ब्याक्टेरिया प्रयोग नगरी GMO बनाउने प्रविधिहरु आइसकेका छन। सबैभन्दा सजिलो र प्रख्यात विधि चाहिँ CRISPR CAS9 भन्ने हो जसबाट क्रोमोजोमको चाहेको ठाउँमै आफ्नो रुचिको जीन घुसाउन सकिन्छ। अचेल त रैथाने जात या पुराना जातमा रहेका जीन, जो नयाँ उन्नत जातमा हुन्नन्, तिनलाई उन्नत जातमा घुसाउने हो भने यो विधिबाट बनेको GMO लाई GMO भन्ने कि नभन्ने भनेर नि बहस भइरहेछन। किनभने एकै species को जीनलाई पुरानो जातबाट नयाँ जातमा ब्याक्टेरियाविना नै सार्दा किन GMO भन्नु? यो बहस एकातिर छ, तर मेरो भनाइ के भने समयसँगै GMO बनाउने तरिका पनि परिष्कृत र सजिला हुँदै गएका छन।

अब यो भाग – २ मा अर्ग्यानिक खेतीबारे चर्चा गर्न चाहन्छु।

भाग-२ अर्ग्यानिक खेती

अर्ग्यानिक खेतीलाई लगभग GMO को विपरितमा राखेर हेर्ने, बुझ्ने गरिन्छ। यो ठीक हो हैन त भनेर खासै के भनिरहनु। तर जसरी अर्ग्यानिक खेतीलाई सेकेन्ड कमिङ अफ जिजस क्राइस्ट जसरी हेरिएको छ, त्यो चाहिँ कसरी बिलकुल गलत छ भनेर २-४ कुरा राख्न चाहन्छु।

केही भलाद्मीहरु उफ्रनुअघि नै यो भन्न चाहन्छु कि हो, मान्छेले कुनै विषादीरहित खानेकुरा खान खोज्दछ भने र किन्ने/पाउने सामर्थ्य राख्दछ भने त्यो उसको हक हो। भलै अरुका अगाडि धाक किन नलाओस्, खोजेको खानेकुरा पाउँछ भने त्यो राम्रो हो।

तर…

अर्ग्यानिक खेतीलाई नागमणि या स्यालको सिं नै भेटेजस्तो गर्नु पनि उत्तिकै मनोरञ्जनात्मक छ; विशेषगरी आधुनिक खेती (GMO कै विरुद्धमा र विकल्पका रुपमा मात्र नभएर) लाई कसरी यसले चुनौति दिन्छ भन्ने पाटोमा।

के हो अर्ग्यानिक खेती?

अचेल सुनिँदै आएको अर्ग्यानिक खेती के हो त भन्दा रासायनिक मल र विषादी प्रयोग नगरिएका र GMO प्रविधिबाट नहुर्काइएका बाली हुन। अर्ग्यानिक माछा-मासु पनि पाइन्छन क्यार – यो भनेको चाहिँ यान्टिबायोटिक नखुवाई र अनावश्यक हर्मोन नहाली बनाइएको दानापानी ख्वाएर हुर्काइएका खसी-कुखुरा-माछा आदि हुन। यसर्थ अर्ग्यानिक शब्दले ‘कृत्रिमता’ रहित उब्जनी इङ्गित गर्दछ।

रसायनशास्त्रको विद्यार्थीलाई सोध्नुभो भने यो शब्दको अर्थ कार्बन हुने सबै कुरा हो भनेर भन्छ। तर अर्ग्यानिक शब्दलाई कृषिमा अर्कै किसिमबाट परिभाषित गरिन्छ, जसमा टाउको दुखाइ गरिरहनु पनि जरुरी छैन।

केमा चाहिँ टाउको दुखाउन जरुरी छ त भन्दा अर्ग्यानिक खेतीका खराब पक्षहरुबारे बोलिँदै बोलिन्न। यसलाई यसरी प्रचार गरिँदै आएको छ कि कृषिका सबै समस्याहरु यसले हल गर्न सक्दछ। आउनुस्, २-४ बुँदा केलाउँ:

१.मल/विषादीको प्रयोग:  के भनेर अर्ग्यानिक खानेकुरा बेचिन्छ त भन्दा बोटले विषादी सुँघ्न नि पाउँदैन। ‘माटोले दिएको हामीले टिपेको’ हिसाबमा पियोर शुद्ध हो भन्दै बेचिन्छ। तर अर्ग्यानिक खेतीको वास्तविकता के हो भने बालीमा हालिने मल तथा विषादी कृत्रिम (synthetic) नभएर प्राकृतिक (natural) छ भने, उक्त बालीलाई अर्ग्यानिक बाली भनेर भन्दा भो। प्राकृतिक मल तथा विषादीमा के के पर्छन त? भन्दा – कम्पोष्ट मल, गाई-भैँसी-मान्छेको गु-मुत, पुरानो बालीको बोट तथा टुसा, peat नामक पदार्थ जुन कोइला (coal) बन्नुअघिको अवस्थामा हुन्छ, आदि।

मेरो गुनासो कहाँनिर भने, विषादी प्राकृतिक होस् या कृत्रिम, यसको प्रभाव त उही नै हो नि। तर योबारे खासै चर्चा हुँदैन। जस्तो, मानौँ कि गाईको मुतले काउलीमा लागेको कुनै एक खराब किरा मार्दछ अरे। गाईको मुत सीधै काउलीमा छर्किएको होस् या १ लिटर मुत १० लिटर पानीमा मिसाएर छर्किएको होस्, मुतमा भएको रसायनको कारण किरा मरेको हुनुपर्दछ। गाई हाम्री माता हुन्, माताले आफ्नो मुतले किरा मारिन् भनेर शायदै भनिएला। उक्त रसायनलाई फ्याक्ट्रीमा उत्पादन गरेर उति नै मात्रामा (concentration) काउलीमा छर्किने हो भने त्यो खराब किरा मर्दैन होला त? पक्का मर्छ। अब अर्ग्यानिक खेतीका पक्षधरहरुले भन्लान कि दुवै रसायनले किरा मार्छ भने गाईकै मुत किन प्रयोग नगर्ने त? किन नगर्ने त भन्दा, सबैसँग गाई हुँदैन। गाई नहुनेले गाई खोज्नुका साटो उही नै रसायन बजारबाट किनेर उति नै मात्रामा काउलीमा छर्कँदा १ लाई अर्ग्यानिक भन्ने अर्कोलाई अनर्ग्यानिक?

यो त कस्तो भो भन्दा खेरि, टुकीको उज्यालो चैँ उज्यालो तर टिउब लाइटको उज्यालो चैँ कृत्रिम उज्यालो भनेजस्तो। जसरी चिनी उखुबाट आओस् कि sugar beet बाट, स्वाद र काम त उस्तै हो। यसैगरी, रसायन फ्याक्ट्रीबाट आओस् या अन्य श्रोतबाट, काम उही नै हो। कुहिएको मलबाट माटो तथा विरुवाले पाउने नाइट्रोजन र बोरामा पाइने युरिया मलबाट माटो तथा विरुवाले पाउने नाइट्रोजन एकै हुन। कसैले हैन भनेमा बुझ्नोस् सोल्टीलाई थप अध्ययनको जरुरी छ।

र, गाईको मुत जति मात्रामा छर्किनुपर्ने हो, त्यसको बढी परिमाणमा छर्किँदा हानि हुँदै नहुने पनि त हैन होला शायद। रसायनको मात्रा चाहिने भन्दा धेरै भएपछि नराम्रो हुन्छ नै, श्रोत चाहे जे सुकै होस्। अनि अर्को कुरा, मानौँ गाईको मुतमा चाहिने रसायनको मात्रा निकै कम छ अरे। यसो भएमा मुत धेरै पटक छर्किन पर्ने हुन सक्छ। सानी खेतबारी हुनेलाई त खासै समस्या नहोला तर सयौँ रोपनीमा व्यावसायिक खेती गर्नेले १) चाहिने मात्रामा मुत कसरी पाउला, र २) सबै जग्गामा पुग्नेगरी पटक-पटक छर्किँदा खर्च कति होला? यो पनि सोच्न पर्ने हुन्छ। sustainability को मूल नारा बोकेको अर्ग्यानिक खेतीका कतिपय कुराहरु unsustainable छन।

२.अर्ग्यानिक खेतीको व्यावसायीकरण: प्राकृतिक होस् या कृत्रिम, विषादी हाल्दै नहाल्नेबारे कुरा गरौँ अब: नेपालजस्तो मुलुक, जहाँ बेच्न भन्दा पनि जीविकोपार्जनका लागि बढी खानेकुरा उत्पादन हुन्छ होला, त्यहाँ विषादी प्रयोग नगरी बाली हुर्काउन सकिएला पनि। गाईको मुत छर्केर, तीतेपातीको घोलले किरा धपाएर, नीमपात भकारीमा राखेर, आदि इत्यादि गरेर बाली जोगाइएला पनि। तर यसरी हुर्काइएको बालीले कतिजनालाई खुवाउँछ भन्ने प्रश्न उठ्छ। मेरो विचारमा प्राय आफ्नो परिवारलाई, या थप केही दर्जनलाई। सबैलाई पुग्नेगरी खेतबाट बजारमा निर्यात गर्न गाह्रै हुन्छ। माथि पनि भनिसकेँ कि ठूलो परिमाणमा खेती गर्नेले के सबैतिर अर्ग्यानिक खेती गरेर सक्ला त?

अर्ग्यानिक बालीलाई अरुभन्दा स्वादिलो भनेर पनि बजारमा पुर्‍याइन्छ। यो कुरा न सत्य हो, न हुने नै छ। दशकौँदेखि हुँदै आएका अनुसन्धानहरुले यसै भन्दछन; गुगल गरेर हेरे हुन्छ। तर ब्रिडिङले गर्दा स्वादमा ह्रास आएको भने पक्कै हो। बालीलाई रोग निरोधात्मक बनाउँदा या चाँडै फूल्ने-फल्ने बनाउँदा या जाडो-गर्मीमा पनि बाँच्ने बनाउँदा या अन्य केही गुणयुक्त बनाउँदा स्वाद ओझेलमा पर्दै गएको पक्का हो। १० वर्षअघि पाइने मन्सुली चामलको हररर वासना आउँथ्यो भनेर भन्दा अहिलेका जनताले पत्याउन्नन्! तर कुरा साँचो हो। धेरै फल्ने, रोग नलाग्ने, आदि बनाउँदा स्वाद हराउँदै गयो। अचेलका गोलभेँडा पनि उहिलेका जस्ता कहाँ रहे र। अरु बालीमा पनि यो लागु हुन्छ, भलै सबैमा नहोला।

मान्छेको दिमाग अलि खत्रै भएर होला, बढी दाम हालेपछि त्यसमा विशेषता देख्दछ मानव मगजले।

३.बढ्दो जनसंख्या र अर्ग्यानिक फार्मिङ: अघिल्लो पोस्टमा भनेको थिएः मेरो व्यक्तिगत विचार यो छ कि परम्परागत कृषिले मात्र चाहिँ आकाशिँदै गएको जनसंख्यालाई ख्वाउन पुग्दैन। अर्ग्यानिक खेतीले यो समस्या हल गर्ने प्रस्तावना पनि उत्तिकै हाँस्यास्पद छ। यदि रासायानिक मल तथा विषादीको प्रयोगलाई रोकेर अर्ग्यानिक खेती मात्रै गर्ने हो भने अहिले उत्पादन हुने खानाको परिमाण ठूलो संख्यामा घट्नेछ। यसको खास कारणहरु चाहिँ रोगबाट बच्न गाह्रो हुने, उत्पादनमा ह्रास आउने, र भण्डारणमा बीऊबीजन नष्ट हुने हुन्। अहिले धेरै प्रकारका रसायनहरुले यी समस्याहरुबाट जुध्न मदद्त पुर्‍याइरहेका छन।

रसायनको कुरा फेरि गरौँ एकचोटि। मैले मेरो विश्वविद्यालयमा plant breeding को विषय लिँदा मास्टरले अमेरिकामा मकै उत्पादनको चार्ट देखाएर (हे. तलको तस्वीर) सोधे: १९४० पछि किन मकैको उत्पादन ह्वात्तै बढ्यो?

corn production innovation
अमेरिकामा मकै उत्पादनमा प्रगति

म ढेडुलाई थाहा थिएन यसको उत्तर। न अरुले नै किटान गरेर भन्न सके। मास्टरले उत्तर दिए: किनभने १९४० मा दोश्रो विश्वयुद्ध हुँदै थियो। सुनेर ट्वाँ नै परियो नि

कुरो के रहेछ भने दोश्रो विश्वयुद्ध हुँदा TNT नामक बम्ब र अन्य बम-बारुद बनाउनलाई नाइट्रोजन चाहिने हुँदा अमेरिकी सरकारले लगभग दर्जनजति फ्याक्ट्री ठाउँ-ठाउँमा खोलेछ हेर्नुस् है। युद्धताका (र युद्धपछि पनि) अमोनिया (NH3) नामक रसायन व्यापक मात्रामा उत्पादन भएछ। अमोनिया प्रयोग गरेर युरिया मल बनाएपछि यो मल खेत-खेतमा पुग्यो र मकैको उत्पादन ह्वात्तै बढ्यो। ठाउँ-ठाउँमा युरिया मलको फ्याक्टरी बनेकाले कृषकहरुलाई मल सजिलै उपलब्ध त भयो नै, त्यसका साथसाथै वैज्ञानिक तथा कृषकहरुले बुझे कि यो मल प्रयोग गरेर मकै (र अन्य बाली) को उत्पादन धेरै नै बढाउन सकिन्छ।

urea synthesis
युरिया बनाउने प्रक्रिया

यसरी रसायनले उत्पादन बढाएको लगभग ८० वर्ष भइसकेको छ। यो अवस्थामा आएर उत्पादन उति नदिने अर्ग्यानिक खेतीले बढ्दो जनसंख्याको मागलाई धान्दछ भनेर विश्वास गर्नु?

हल्काफुल्का रमाइलोको लागि सानो खेत-बारी-बगैँचा हुनेले सकिन्छ त नि भन्दैमा सारा संसारलाई ठूलो सपनाको आश देखाएर भोकभोकै मार्नु उचित नहोला।

४.फटाहाहरु: नेपालमा त अझ हल्का किरा लागेको रायोको साग, या पहेँलो-पहेँलो चम्सुर, या असिनाले चुटेको फर्सी, आदि छन भने ‘यी अर्ग्यानिक हुन, त्यसैले यस्ता त देखिइहाल्छन नि’ भनेर बेचिन्छन। शहरका ठगिन्छन। यस्तै कुन चैनीको हजुरबाउले पाखामा लगाको लप्सी, वनमा आफैँ उम्रेको काफल, खोलाछेऊका ऐँसेलु आदि ग्रामीण इलाकातिर टिपिन्छन; शहरमा अर्ग्यानिक भनेर बेचिन्छन। शहरका फेरि ठगिन्छन। यो पछिल्लो उदाहरण (लप्सी, काफल, आदि) खास अर्ग्यानिकै हुन, हैन भन्दिनँ, तर जेलाई पनि अर्ग्यानिक भन्देर बढ्ता दाममा बिकाउने कुरा यसो राखेको मात्र। किसानले उचित मूल्य पाए त हो, राम्रै हो। तर अर्ग्यानिकको लेबल टाँसेर टपरीमा राखेर शहरमा बेच्ने मलसाँप्राहरुले लुँड्याउने त हुन अधिकतम पैसो। ☺

नेपालमा केही वरिष्ठैहरुले त भन्छन पनि अरे – रसायनिक खेती छाडेर जैविक खेतीतिर जानुपर्दछ। यस्तै यस्तै कुराले अरुलाई फास्लाङ फुस्लुङ पार्ने फटाहाहरु धेरै छन। मलाई पनि सके यही आरोप लगाइएला हाहा। तर पुन: इन्टरनेट भन्ने जिनिसमा कृपया १० मिनेट मात्रै खर्च गर्नुस्, मैले गरेका कुराहरु अरुहरुले बीसौँ वर्षदेखि नै गर्दै आइरहेका छन। यीबारे राम्रोसँग बुझ्नुस्।

साह्रै भन्यो यसले भन्नुहोला है, तर वरिष्ठहरुका कुरा सुन्ने हो भने त कट्टु छोडेर लगौँटी लाए भो; फोन छोडेर हुलाकमा भर परे भो; ओखती छोडेर बुटी खोज्न वन गए भो! समयले दिने आविष्कारलाई उपयोग नगर्ने हो ओडारतिरै बसे भो। फेरि पनि भन्दछु: वातावरण बिगार्ने रसायनले हैन कि रसायनको मात्राले हो, त्यसको प्रयोग कसरी गरिएको छ, त्यसले हो। धुवाँले हावा खतमै पार्‍यो नि भनेर साइकल चलाउन सानो शहरमा सम्भव होला, तर मेची-महाकाली गर्न सकिएला र? त्यसैगरी, ३ आनाको टुक्रामा घर बनाएर गमला तथा पर्खालमुनि कुनामा hobby का रुपमा खेती गर्नेले १००% ‘वातावरणमैत्री खेती’ गर्ला पनि तर तराईका फाँटहरुमा सम्भव नहोला कि? – भन्ने यो झ्यासको २ पैसे सोच।

कसरी कति विषादी वा कस्तो मल राखेकोलाई अर्ग्यानिक भन्ने समेत नभएको अवस्थामा रङ, रुप हेरेकै अवस्थामा बढी पैसा तिरिहाल्नु उपयुक्त मलाई भने लागेन है, हुन् त च्वाइस आफ्नो आफ्नो हो।

बिट मारुँ अब: खासमा अर्ग्यानिक खेती भन्दा पनि विज्ञानका आविष्कारहरुलाई आत्मसात गर्ने वातावरण (पृथ्वी)-मैत्री खेतीको जरुरी छ जसले गरी पर्याप्त मात्रामा गुणकारी खाना उपलब्ध गराउँदछ। urban farming – निकै नै सानो क्षेत्रफलमा, विशेषगरी शहरमा, गरिने खेती जसले आफूलाई आंशिक रुपमा पुग्ने खानेकुरा फलाउँदछ – यो त्यस्तो खेतीको उदाहरण हो।

आजलाई यत्ति। धन्यवाद!

GMO, अर्ग्यानिक खेती र यससम्बन्धी श्रृङ्खला Anotherverse मा जारी रहनेछ, कृपया पढ्नलाई मेसो मिलाउँदै गर्नुहोला।

(लेखक वनस्पति विज्ञानका अनुसन्धानकर्ता हुन् । ट्विटराँ @ma_jujuman का रूपमा परिचित  उनी आफुलाई झारपात लेखक  भन्न रुचाउँछन् ।  उनको  व्यक्तिगत ब्लग  http://jujumaan.wordpress.com हो)

Advertisements