(GMO, यसको वैज्ञानिक आधार, विदेश र नेपालमा रहेका नीतिनियमका व्यवस्था र यसैसँग जोडिएका अर्ग्यानिक खेती र कृषिप्रविधि सम्बन्धित लेखश्रृङ्खलामा पहिलो भाग आज प्रकाशित गरिएको छ, बाँकी भागहरु क्रमश प्रकाशित हुनेछन्, कृपया सास  थामेर बस्नुहोला।😏)

खासमा के हो GMO?

केही दिन पहिलेका नेपाली समाचार हेर्दा वर्तमान परिस्थितिमा कानुनी तवरबाटै GMO बीऊ नेपाल भित्रन सक्ने व्यवस्था भएको छ। GMO को बारेमा नेपाली मात्र हैन विश्वका अधिकांश मानिसहरुमा पूर्ण ज्ञान छैन। मिडिया पनि योबारे राम्रोसँग जानकारी राख्दैनन्। हालसालै कान्तिपुरको अनलाइन संस्करणमा श्रावण १३, २०७३ मा छापिएको जीएमओलाई नेपाल प्रवेश दिने तयारी रिपोर्टमा जुन ग्राफिक राखिएको छ, त्यसले मेरा २ वाक्यका तर्क प्रष्ट्याउँछन। GMO सुई हालेर बनाइन्न। GMO के हो, कसरी हामीसामु आउँछ भनेर मैले अढाई वर्षअघि एउटा सानो ब्लग पोष्ट लेखेको थिएँ: हाइब्रिड, GMO, मोन्सान्टो… आदि-इत्यादि। तर त्यो लेखमा GMO बारे विस्तृत रुपमा लेखेको थिइनँ। यो लेख यिनैको सेरोफेरोमा।

भाग १

GMO को संक्षिप्त परिचय

GMO भनेर:

Genetically = कुनै एक जीनसम्बन्धित। जीन भनेको हाम्रो शरीरको हरेक बनोट तथा गतिविधि निर्क्यौल गरिदिने सूचनाको एकाइ हो। जस्तो: कपालको रङ्ग, मान्छेको उचाइ, छातीको चौडाइ, रोग-चोटपटक लाग्दा हुने प्रतिक्रिया, आदि सबै कसरी निर्धारण गर्ने भन्ने सूचना जीनमा हुन्छ।

Modified = फेरिएको

Organism = जीव

त्यसैले, GMO भनेको जीन फेरिएको जीव हो।

जीन कसरी फेरिन्छ त? कुनै एक जीवमा भएका जीन फेरिने प्रकृयाहरु धेरै हुनसक्छन। तर साधारण हिसाबमा यी प्रकृयालाई प्राकृतिक र अप्राकृतिक गरी २ भागमा बाँड्न सकिन्छ। जीनलाई अप्राकृतिक रुपमा फेरेर GMO बनाइनेबारे (यसबारे विस्तृतमा तल) धेरै परिचित भए पनि प्राकृतिक प्रकृयाले जीन बदलेर पनि GMO बन्छ भन्नेबारे चाहिँ थोरै मात्र जानकार होलान्। आउनुस्, यी दुईबारे बुझौँ।

वैज्ञानिकले बनाएको GMO – “अप्राकृतिक”

विगतका केही वर्षहरुमा GMO भनेर केलाई भन्दै आइएको छ, पहिले त्योबारे कुरा गरौँ।

विकसित देशहरुमा प्रायजसो मेशिनद्वारा खेती गरिन्छ। ठूला देशहरु (ब्राजिल, अमेरिका) मा सयौँ हेक्टर जमीनमा एकैपटक एकै बाली हुर्काइन्छ। हाम्रो देशमा पनि तराईमा मेशिनले खेती गर्न थालिसकिएको छ। धेरै जग्गामा खेती गर्दा हातले काम गर्न गाह्रो छ; मेशिनले धेरै सजिलो पार्दछ। हातले गर्ने कामको उदाहरणमा झार उखेल्नु, मार्नु प्रमुख छ। हुर्कँदै गर्दा पाखामा गएर मकैका बोटबीच झार उखलेर युरिया खुबै हालियो। विकसित देशमा हजारौँ रोपनीमा एकैपटक खेती गर्नेले यस्तो काम गर्न मान्छे (लेबर) का साटो रसायन खोजे, र बीऊ-विषादी कम्पनी Monsanto ले glyphosate नामक रसायन दियो। झार सुकाउने तथा मार्ने यो रसायनले ती विरुवा मार्दछ जसमा यो रसायन प्रतिरोध गर्ने क्षमता हुँदैन। तब, मोनसान्टोले Agrobacterium sp. (strain CP4) [3] ब्याक्टेरियाबाट उक्त प्रतिरोधात्मक जीन झिकेर मकैमा घुसायो। र उक्त मकैको बीऊ किसानलाई बेच्यो। किसानले मकै छर्‍यो। मकै ठूला हुँदै गए, झारपात पनि आए। झार मार्न किसानले glyphosate (मोनसान्टोको व्यापारिक ब्राण्ड: RoundUp) छर्कियो। प्रतिरोधात्मक जीन नहुने झार मरे तर उक्त जीन हुने मकै बाँचे। यस्तो ‘अप्राकृतिक’ GMO बालीको निर्माण अहिले भटमास, धान, कपास, भण्टा, आदिसम्म पुगिसकेको छ।

एउटा जीवबाट जीन झिकेर अर्को जीवमा कसरी घुसाइन्छ, अब त्यो बुझाउन चाहन्छु। साभार गरेको फोटो तलः

Genetic modification process
कसरी बन्छ GMO?
  1. आफूलाई चाहिएको जीन कुन जीवमा छ, त्यो पत्ता लगाउन वर्षौँसम्म वैज्ञानिकहरुले खोज र शोध गर्छन।
  2. चाहिएको जीन पत्ता लागिसकेपछि उक्त जीनलाई ल्याबमा छुट्याइन्छ। प्राय restriction enzyme ले उक्त जीवको क्रोमोजोममा कहाँ उक्त जीन छ, त्यो ठाउँको दायाँ-बायाँ काटिन्छ, र काटिएको जीनमाथि PCR (Polymerase Chain Reaction) गरिन्छ। कहिलेकाहीँ सीधै PCR गरिन्छ, enzyme ले नकाटीकनै। PCR विधिले एउटा DNA लाई करोडौँ गुणाले बढाइदिन्छ। PCR गर्नुको कारण उक्त जीन धेरै संख्यामा प्राप्त होस् भनेर हो।
  3. अब जीनलाई गोलाकार DNA जसलाई plasmid भनिन्छ, त्यसमा घुसाइन्छ। घुसाउनको लागि पनि restriction enzyme ले काट्ने ठाउँ हेरी घुसाइन्छ।
  4. यो प्लासमिडलाई transformation विधिबाट विरुवाको कोषमा पठाइन्छ। Transformation का अनेक विधि छन, जसको व्याख्या यहाँ गरिरहन ठाउँ पुग्दैन। उदाहरणका लागिः ब्याक्टेरियालाई विरुवाको कोषमा पठाएर, gene gun बाट, आदि। तर सुई पक्कै प्रयोग गरिन्न!
  5. यी transformed कोषहरु ल्याबमा हुर्काइन्छन, र चाहेको जीन भए-नभएको आधारमा छानिन्छन। कोषहरु कृत्रिम हुर्कन गाह्रो मान्दछन, त्यसैले यो प्रकृया निकै जटिल र कठीन हुन्छ।
  6. हुर्केका कोषहरुले पूर्ण विरुवा दिएपछि ग्रीनहाउसमा सारिन्छ। यिनले वयस्क भएपछि बीऊ दिन्छन, र उक्त बीऊ GMO बीऊ हुन्छन। अर्को नोटः सबै विरुवा वयस्क हुन सक्दैनन् – कोही बीचैमा मर्छन। वयस्क विरुवामा पनि सबैले बीऊ दिँदैनन्।


किसान तथा ब्रिडरले बनाएको GMO – “प्राकृतिक”

हामी गहुँको पाउरोटी तथा रोटी स्वाद मानेर खान्छौँ। भुटेको गहुँ पनि बहुत मीठो हुन्छ। गहुँको पीठोबाटै बन्ने पास्ता, केक, बिस्कुट, आदि पनि खान्छौँ। हामीले खाने गहुँ GMO हो भनेर भन्दा पत्याउनुहुन्न पनि होला। हामीले अहिले रोप्ने र फलाउने आधुनिक गहुँका पुर्खाहरु हज्जारौँ वर्षहरु पहिले (अहिले पनि) मध्यपूर्व (Middle East) क्षेत्रको वर्तमान दक्षिणी इराक, लेबनान, जोर्डन, सिरिया, र उत्तरी इजिप्ट भूभाग, जसलाई Fertile Crescent भनिन्छ, त्यहाँ हुर्कन्थे। गहुँका छुट्टाछुट्टै ३ पुर्खाहरुको समागमबाट गहुँ उत्पन्न भयो। यसरी उत्पन्न भएको गहुँ अहिलेको गहुँभन्दा धेरै फरक थियो। एउटा उदाहरण – हजारौँ वर्षपहिलेको त्यो गहुँ जब पाक्ने बेला हुन्थ्यो, तब त्यसका बाला भाँच्चिने वा बालाबाट दाना भुइँमा झर्ने वा दुवै हुन्थ्यो। यस्तो गहुँ काटेर, बटुलेर घरसम्म ल्याइपुर्‍याउन गाह्रो काम थियो। झरुवा धान रोप्ने किसानलाई सोधे हुन्छ, किन झरुवा धानका मुठा काट्ता सुस्त काट्नु पर्छ, अँगाला बिस्तारै उठाउनुपर्छ, र खलोसम्म पुर्‍याउनका लागि बोक्दा दौडन हुन्न भनेर। त्यो पुरानो गहुँमा पनि त्यस्तै समस्या थिए।

यी समस्या हल गर्न हामी मान्छेका पुर्खाले के गरे त भन्दा बाला नभाँचिने र दाना नझर्ने गहुँका बोटा छानी छानी सँगेल्न थाले [1]। उनीहरुले के बुझे त भन्दा, यो साल दाना नझर्ने गहुँ अर्कोसाल रोप्दा दाना झर्दैन। यसरी, विधिवत् रुपमा गहुँको जीन कृत्रिम रुपमा फेरिन थाल्यो। अहिले संसारभर उमारिने गहुँ कुनैको पनि दाना झर्दैन, र बोटमै बाला भाँचिन्न। दशौँ हजार वर्ष पहिलेको त्यो ‘प्राकृतिक’ गहुँलाई आदि-किसानहरुले जसरी आफूअनूकूल हुर्काउँदै ल्याए, त्यसले गर्दा धेरै नै जीनहरु फेरिएका छन, बाला नभाँचिने र दाना नझर्ने त एउटा मात्र उदाहरण हो [2]। अर्को प्रमुख उदाहरणमा गहुँको उचाइ पर्दछ। लगभग १९६० अघिसम्म अग्ला गहुँका बोटहरु हुने गर्दथे भने त्यसपछि हरित क्रान्ति (Green Revolution) ले गहुँलाई होचा बनाइदियो, यद्यपि यसलाई GMO भनेर कुर्लिने खासै भेटिन्नन्। उसैगरी, प्रोटिनको मात्र बढाउने-घटाउने, स्टार्चको मात्र बढाउने-घटाउने, गहुँको आयु लम्बाउने-छोट्याउने, आदि सबै कामहरु पनि या किसान आफैँले वा कुनै गहुँको ब्रिडरले गर्दै आएका छन। यिनलाई पनि GMO गहुँ भनेर कुर्लिने खासै भेटिन्नन्। तर किन? किन अहिलेको गहुँलाई GMO मानिन्न त? परिभाषा अनुसार त मान्नुपर्‍यो, किनभने जीनहरु जो बदलिएका छन!

यसको उत्तर हो: किनभने पटमूर्खहरु आफ्नो आवाज ठूलो पार्न रुचाउँदछन तर अरुको विचार सुन्न चाहँदैनन्। आफूले भनेको मात्र हो र अरुले भनेको हैन भन्ने सोच हावी भएर हो। तर किसानले बनाएको आधुनिक बालीलाई जिएमओ नभन्ने हो भने शायद जिएमओ हैन अर्कै शब्द पो प्रयोग गर्नुपर्ने हो कि? नत्र गंगामा न्वाए पनि भैँसी डुबाउने आहालमा न्वाए पनि न्वाउन त न्वाएकै हैन र?

Fertile Crescent
गहुँको उद्भव क्षेत्र (Fertile Crescent)

मकैको कुरा गरौँ। मकैको पुरानो पुर्खा भनेर Teosinte लाई चिनिन्छ (फोटो तल, फोटो साभारः evolution.berkeley.edu)। GMO मकै आउनुभन्दा धेरै पहिले नै मकै अहिलेको आधुनिक रुपमा विकसित भैसकेको थियो। यो पनि किसानहरुले नै परापूर्व कालदेखि ठूला, राम्रा, भिन्नै मकैका बोटहरु छान्दा छान्दा सम्भव भएको हो। आजको आधुनिक मकै र पुरानो टिओसिन्टेबीच जेनेटिकल्ली धेरै नै फरक छ। यसरी जीनहरुमै व्यापक फरक छ भने, हाम्रो आधुनिक मकैलाई जेनेटिकल्ली मोडिफाइड भन्ने कि नभन्ने? भन्नुपर्छ जस्तो लाग्छ मलाई चैँ। तर हैन, नभन्ने हो भने GMO को नामकरण तथा परिभाषा फेर्नुपर्छ शायद, ताकि सही र गलत छुट्याउन सजिलो होस्।

corn & teosinte
मकै र यसको पुर्वज

GMO: किसान भर्सेस वैज्ञानिक

किसानले हजारौँ वर्षदेखि बालीहरुको जीन फेर्दै आएका छन, तर यिनले कुनै ब्याक्टेरियाको जीन घुसाएका छैनन्। वैज्ञानिकहरुले भने यही कामलाई केही दशकमै हासिल गरेका छन, तर यिनले बालीबाहेक अन्य जीवका जीन घुसाउँदछन। यी २ वाक्य पढ्दा वैज्ञानिकहरुको काम नराम्रो भन्ने बुझिन्छ। हो पनि, यसरी फ्याट्ट अर्कै जीवको जीन घुसाउनुमा जोखिम त हुन्छ नै। तर यो पनि विचार गरौँ: कुनै रोग लागेमा किसान (वा बाली ब्रिडर) ले उक्त रोग निरोधक नश्ल भेट्टाउन, जगेर्ना गर्न, र फेरि रोप्न वर्षौँ लाग्छ। मेरो गहुँको अनुभवले भन्दछ कि यसो गर्न ८-१० वर्ष त घटीमा लाग्न सक्छ। यतिका वर्ष कुर्न सकिन्न भन्ने कुरा सजिलै बुझ्न सकिन्छ।

थप, रोग लाग्दा विषादी छर्किन पर्छ। म आफैँले आलुमा ४-६ पटक ओखती छरेको अनुभव छ। वैज्ञानिकले आएर ‘फलानो रोग नलाग्ने गरी जिएमओ आलु २ वर्षमै बनाइदिन्छु, हुर्काउनुहुन्छ?’ भनी सोधेमा किसानले के भन्ला? तलका बुँदाहरुले सहयोग गर्लान कि।

राम्रा पक्षहरु पहिले:

  • एक त विषादी छर्किरहन परेन। विषादीमा लाग्ने पैसा जोगिने कुरा बेग्लै छ, तर मुख्य कुरा मैले विषसँग खेलिरहन परेन; स्वास्थ्य जोगिने भयो।
  • अर्को, विषादी नछर्किएपछि पर्यावरणीय फाइदाहरु प्रशस्त छन। काभ्रेका पाखाहरुबीचका खोल्सातिर जानुस्, विषादीका प्याकेट सबैतिर छरिएका छन। हाम्रै बारी भएको पाखा, जहाँबाट तलको बस्तीमा पिउने पानी ल्याइन्छ, त्यहाँ पनि सर्वत्र विषादीका प्याकेटहरु छन। अरु जिल्लामा नि यस्तै होला।
  • विषादी छर्किन रोकेपछि माटोमा मिसिने वा पानीले बगाएर खोलातिर लाने काम हुन्न। धान काट्नलाई खेत ओभाउन खाँद काटेपछि खाँदमा माछा छ्यालब्याल हुन्थे पहिले। अचेल? केही न केही! आलु रोपिएका खेतबारीबाट, धान खेतबाट विषादी बगेर खोलामा पुगेर गँगटा, माछा, भ्यागुता सब मासिएका छन।
  • GMO प्रविधिबाट धेरै फल्ने, रोग-किरा नलाग्ने, पोषक तत्व बढी हुने, आदि बालीको निर्माण गर्न सकिन्छ; भइरहेका पनि छन। संसारको जनसंख्या बढ्दो क्रममा रहेको बेलामा चिसो-तातो प्रतिरोधात्मक क्षमता भएका, खराब माटोमा पनि हुर्कने, आदि नश्लका बाली हुर्काउन सकिन्छ भने त्यसो किन नगर्ने?

अब नराम्रा पक्षहरु:

  • Glyphosate छर्केपछि पनि नमरेका झारहरु ‘superweed’ बनेर आतंक मच्चाइरहेको कुरा सत्य हो। यी झारहरुलाई मार्न कडा से कडा रसायन चाहिन्छ, जसको प्रयोगबाट माटोमा असर पुग्ने कुरा नकार्न सकिन्न। माटो, यानेकि अन्नको भण्डार। यसरी माटो र वातावरणमा पर्ने नकारात्मक प्रभाव राम्रा हैनन्।
  • मानौँ यो वर्ष कुनै कम्पनीले GMO बीऊ बेच्यो। फसल राम्रो भयो भने किसानले अर्को वर्ष पनि त्यै बाली लगाउन खोज्छ। र अर्को वर्ष, अनि अर्को वर्ष। यसरी उसले साधारणतया लगाउँदै आएको रैथाने बीऊ बिस्तारै हराउँदै जान्छ।
  • फसल राम्रो भएन भने पनि ऊ फर्केर पुरानो बीऊमा जाँदैन किनभने वर्षैपिच्छे कम्पनीले नयाँ उन्नत बीऊ दिएपछि आशमा झुण्डेर नयाँ बीऊ नै किन्छ। परम्परागत बीऊ उसै पनि ओझेलमा पर्दै गएका छन, किनकि यिनको उत्पादन त्यति राम्रो हुँदैन। त्यसमाथि रोग नलाग्ने, धेरै फल्ने उन्नत बीऊ पाएपछि रैथाने बीऊ लोप हुनसक्ने डर हुन्छ। जैविक विविधता भनेको जति धेरै भयो त्यति राम्रो हो। यो घटाउनुको प्रमुख कारण कम्पनीले बेच्ने विकासे बीऊ (GMO नै हुनुपर्छ भन्ने छैन) हुन।
  • तर कम्पनीको मोनोपोली पनि बढ्छ। किसानले आफैँ राखेको बीऊ बाँकी नभएपछि कम्पनीसँग वर्षेनी बीऊ किन्नुको विकल्प रहन्न। केही कम्पनीहरुले बजारमा कब्जा जमाउनेछन।
  • मानिसको स्वास्थ्यमा असर पुग्छ भन्न कुरा चैँ सरासर गलत हो। अहिलेसम्मको अनुसन्धानले केही असर पुग्ने देखाएका छैनन्। योबारे शायद पछि लेखौँला।

GMO राम्रो कि नराम्रो त? आफैँ छुट्याउनुस्। मलाई सोध्नुहुन्छ भने चैँ राम्रा पक्ष धेरै देख्छु। टिभी शुरुमा आउँदा ‘यसले समाज बिगार्छ’ भन्थे अरे, शायद त्यस्तै होला। GMO का राम्रा पाटाहरु उघ्रिँदै जालान बिस्तार। नराम्रा पाटाहरु पनि उघ्रिउन् ताकि सुधारहरु भइरहून। मेरो व्यक्तिगत विचार यो छ कि परम्परागत कृषिले मात्र चाहिँ आकाशिँदै गएको जनसंख्यालाई ख्वाउन पुग्दैन।

अर्ग्यानिक खेतीले यो समस्या हल गर्ने प्रस्तावना पनि उत्तिकै हाँस्यास्पद छ। योबारे, र GMO बीऊ नेपाल भित्रिने र यिनले पुर्‍याउने असरबारे आगामी भाग(हरु) मा लेख्नेछु।

माथि केही त्रुटि भेटेमा कृपया कमेन्ट वा ट्विट ठोक्नुहोला। धन्यवाद।

GMO, अर्ग्यानिक खेती र यससम्बन्धी श्रृङ्खला Anotherverse मा जारी रहनेछ, कृपया पढ्नलाई मेसो मिलाउँदै गर्नुहोला।

(लेखक वनस्पति विज्ञानका अनुसन्धानकर्ता हुन् । ट्विटराँ @ma_jujuman का रूपमा परिचित  उनी आफुलाई झारपात लेखक  भन्न रुचाउँछन् ।  उनको  व्यक्तिगत ब्लग  http://jujumaan.wordpress.com हो)

References

  1. Kislev, M.E., Weiss, E. and Hartmann, A. (2004) Impetus for sowing and the beginning of agriculture: ground collecting of wild cereals. Proceedings of the National Academy of Sciences USA 101, 2692–2695.
  2. Helbaek, H. (1959) Domestication of food plants in the OldWorld. Science 130, 365–372.
  3. Funke T, Han H, Healy-Fried ML, Fischer M & Schonbrunn E (2006) Molecular basis for the herbicide resistance of Roundup Ready crops. Proc Natl Acad Sci USA 103, 13010–13015.
Advertisements