सडक कि खोला?

अरु बेला साँघुरा सडक, पेटीभरी सामान बेच्नेहरुले गर्दा सजिलै हिँड्न नपाउने काठमान्डुको वर्खाको दुखको कथा बेग्लै छ। कमै सडक होलान् जसमा पानी बनाइएका नाली र ढलबाट बग्छ र सडक सहज रहन्छ।केही बेर पानी पर्दा नै काठमान्डुको मुख्य भाग जमल तथा ललितपुरको कुपन्डोलमा सडक नदी जस्तो हुने त सबैले देखेकै कुरा हो।

सडक बनाउँदा पानी व्यवस्थापनलाई प्राथमिकता दिएर काम गर्न सकिएन भने वर्षा हुँदा दुख दिने कुरा त छदैँछ, बनेको सडकको आयु पनि कम गराउने कुरालाई नजर अन्दाज गर्न हुँदैन।भिरालो धरातलमा त सडकको मुख्य शत्रुको रुपमा लिइने बगेर आउने बर्सातको पानीले उचित निकास नपाए सहरी सडकमा पनि जमेर बिस्तारै खाल्डाखुल्डी पार्ने गर्छ।

बङ्गालको खाडीबाट आउने मौसमी वायुले मनसुनी वर्षा हुने काठमान्डुमा त्यहाँबाट नजिकको भौगोलिक अवस्थिति तथा उत्तरका पहाडले हावा छेक्ने कारणले गर्दा यथेष्ठ मात्रामा नै बर्सात हुन्छ।औसतमा वार्षिक १३८० मिलिमिटर जति पानी पर्ने काठमान्डुमा जुलाइ महिनामा मात्रै ३७८ मिलिमिटरसम्म पानी परेको रेकर्ड छ। वरिपरिका डाँडाको समेत पानी बगेर आउने र बागमती र यसका सहायक नदी मार्फत निकास हुने उपत्यका सतहमा बग्ने पानी व्यवस्थापनको लागि सजिलो ठाउँ भने हैन। अब पहिलेजस्तो धेरै खेतबारी वा पर्ती जग्गा भएर धेरैजसो पानी जमिनमा सोसिएर जाने अवस्था पनि छैन, काठमान्डुमा।

हरेक वर्ष थपिने घर, तिनमा बस्ने मान्छे र उनीहरुका लागि चाहिने पानीको माग धान्न नयाँ इनार र डिप बोरिङ बन्ने गरेका छन् यसरी एकातिर भूमिगत पानीको सतह घट्दै छ भने धेरै जसो जमिन पक्की संरचनाले ढाकेर भूमिगत जलाधारमा पानी कम जम्मा हुँदै गएको पनि छ।

यसको समाधान चाह्यो भने गर्न नसकिने पनि छैन, हरेक वर्ष हुने सडक ‘मर्मत’ काम गर्नुअघि विश्वासिलो तथ्याङ्कमा टेकेर सहरी क्षेत्रको जलविज्ञानको अध्ययन (Hydrological study) गरेर उपयुक्त प्रकार र साइजका नाली सडकसितै निर्माण गर्ने, हरेक घर जान बाटो निकाल्दा नालीलाई पुरेर मनलाग्दी पाइप हाल्ने संस्कृतिलाई निरुत्साहित गर्ने तथा घरको पानी कि त जम्मा गरेर प्रयोग गर्ने वा सडकको नालीमा पुग्ने गरि जोड्नुपर्छ। निर्मित क्षेत्रको (Urban area)बाट सङ्कलित पानीलाई नदी छेउ वा खाली जग्गासम्म लगेर भूमिगत जलाधारमा जम्मा गर्ने (Groundwater Recharge)  व्यवस्था गर्न सकिन्छ।

कतै खडेरी कतै बाढी??

water problems
भौगोलिक रुपमा जलस्रोतका समस्या

अघिल्लो हिउँद पहाड र  हिमालका केही जिल्लाहरुमा खडेरी ठूलो समस्या बनेर आयो।पूर्वी र मध्य नेपालका पहाडमा भूकम्पले गर्दा भूमिगत पानीको तहमा हलचल भएर मूल सुकेको भन्न सकिए पनि पश्चिम तथा मध्यपश्चिममा आएको खडेरी खराब भविष्यको सङ्केत हो। माथिको स्केचमा नेपालको उत्तर- दक्षिण जलाधार क्षेत्रमा खडेरी पर्नुको कारणहरु देखाइएका छन्।

उत्तरबाटै सुरु गर्दा हिमालयको वृष्टीछायाँमा परेका मुस्ताङ, मनाङजस्ता ठाउँबाहेक हिमालनिशृत स्रोतमा आश्रित उच्चपर्वतिय क्षेत्रमा पानी कम हुनुको कारण बढ्दो भूमन्डलिय तापमान र यसका कारण हिमालमा घट्दै गएको हिउँ र हिमनदी नै हुन्। मध्यपहाडी क्षेत्रमा आइपुग्दा समयक्रमसँगै गडेर गएका नदी र त्यसका कारण कम उचाइ तिर मूल सर्दै गएर पुराना मुहान सुक्न थालेको पनि कति ठाउँमा देखिएको छ। यो बाहेक जलाधार संरक्षणलाई सहयोग पुग्ने मानविय क्रियाकलाप जस्तो गरा बनाएर खेती गर्ने, पोखरी बनाएर पानी जम्मा गर्ने काम पहाडी क्षेत्रमा कम हुँदै जानुले भूमिगत पानी सञ्चित कम हुन गइ मूल हराउँदै गएको हुन सक्ने देखिन्छ।जथाभावी पहाडमा हुने निर्माणले पनि भूक्षय गराइ पानी सोसिन तथा पानीको बाटोमा अवरोध भएको छ।वन फडानी र माटो, गिट्टी, बालुवा लगायतका प्राकृतिक स्रोतको अत्याधिक दोहनले रुपरेखा नै फरक पार्न लागिसकेको चुरे पनि पानी सङ्कटबाट अछुतो छैन्। भारतको गङ्गासम्म फैलिएको तराइमा नेपाल तथा भारत दुवैतिरबाट भूमिगत जलस्रोतको अधिक उपयोगको प्रभावबारै कमै कुरा हुन्छ।तलबाट घट्दै आएको जल सतहले माथिको सतह पनि स्वभाविक रुपमा घटेर उच्च पहाडी क्षेत्रसम्मकै मूल तथा नदिहरु गहिरिँदै जान सक्ने सम्भावनालाई नकार्न सकिन्न।

ठूला र बाह्य प्रभाव बाहेक, अव्यवस्थित निर्माणमा नियन्त्रण तथा पहाडमा भूमिगत जलाधारमा पानी पठाउने र चुरे क्षेत्रको संरक्षणले पानी सङ्कटलाई केही कम गर्न भने हामीले सकिन्छ।

अहिले र पछिको बाटो

हरेक साल विविध कारणले आउने बाढीले पुराउने क्षतिको कथा सुनेरै पुस्तौँपुस्ता जाने हाम्रो नियति छ अझै पनि।जलवायु र र भौगोलिक कारणले आउने बाढी जस्तो विपत्तिबाट बच्न अहिले नेपालमा विभिन्न नदीहरुमा हुने बहाब तथा पानीको सतहको तात्कालिक जानकारी दिने संयन्त्र नेपालका सबैजसो जोखिमयुक्त नदीमा हुनु पूर्वतयारीको पहिलो सर्त हो। खुसीको कुरा नेपालका केही नदीहरुमा यस्तो संयन्त्र जल तथा मौसम विज्ञान विभागले जडान गरेको छ। (विभागको वेबसाइट dhm.gov.np तथा पानीको सतह तथा बहाव यहाँ गएर हेर्न सकिन्छ।) यसरी धेरै समयदेखि जम्मा गरिएका आवधिक तथ्याङ्कको अध्ययन, विश्लेषण र मोडलिङ गरेर सम्भाव्य बाढी र जोखिममा पर्ने क्षेत्रको पूर्वजानकारी तयारी अवस्थामा राख्न सकिने पध्दति विकसित भइसकेको छ। भर्खरैको हिमताल फुटेर भोटेकोसीमा आएको जस्तो बाढीको समेत हिमतालहरु, तिनको अवस्था र सम्भावित विस्फोटको विश्लेषण (breach analysis) तथा मोडलिङ गरि भविष्यमा हुनसक्ने प्रकोपको भविष्यवाणी र पूर्वतयारी गर्न सकिन्छ। यस्ता अध्ययनबाट सम्भावित बाढीले डुबाउन सक्ने क्षेत्र, बाढीको बहाव तथा समयको जानकारी दिन्छन।

भोटेकोशी बाढीको क्षति (Source: nepalitimes.com)
भोटेकोशी बाढीको क्षति
(Source: nepalitimes.com)

यस्ता प्रविधिजन्य कुरा बाहेक पनि नदीको बहाव क्षेत्र मिचेर गरिने निर्माण वा बस्तिविकासलाई बाढीले कुनै पनि बेला हानी पुराउन सक्ने हुँदा सकेसम्म नदीको प्राकृतिक बहावलाई अवरोध नगर्नु उत्तम हो।सायद त्यही भएर हो कि पहिले पहाडमा आएर बसेका मान्छेहरुले माथि बस्ती, त्योभन्दा तल खेत बारी र सबैभन्दा तल खोलालाई यतिकै बग्न दिएका?

बाढी प्रभाव क्षेत्र मोडलिङ (Image Source: www.lentzengineering.net)
बाढी प्रभाव क्षेत्र मोडलिङ
(Image Source: http://www.lentzengineering.net)

Advertisements