आखिर के हुन् त ‘हर्मोन’?

‘Hormone’ (हर्मोन) भन्ने शब्द ग्रीकबाट आएको हो। यसको अर्थ ‘कामको लागि तयार गर्नु’ हो। यसबाट हामी ‘हर्मोन’हरुको महत्वको बारे अड्कल काट्न सक्छौ, जसले प्राणीलाई कामको लागि तयार गर्छन्। त्यसैले त मानिस के मानिस रहन्थ्यो यदि ‘हाड, मासु र हर्मोन नरहे’ पनि भन्ने गरिन्छ।

कसैलाई माया गर्नुहुन्छ? आफ्नो हर्मोन र मष्तिष्कका कोषिका लाई ‘धन्यवाद’ दिनुहोस्!  ‘Sex’ देखि शिशु जन्मने प्रक्रिया सम्म, बच्चाले खाने आमाको दुध देखि हुर्कने सम्म, भोक देखि भोजन सम्म, हाँसो देखि आँशु सम्म, रातको निद्रादेखि बिहान उठ्दा सम्म। ‘Stress’ भएको बेला  एकाथरी ‘हर्मोन’, नहुदा भने अर्काथरी। मुटु दौडाउनका लागि हर्मोन, खाना पचाउनका लागि हर्मोन! सोच्ने हो भने शरीरमा ‘हर्मोन’ यत्र, तत्र, सर्वत्र छ।

Thyroid (थाईरोइड) हर्मोन र हाइपोथाइरोइडिजम:

थाईरोइड ग्रन्थीले थाईरोइड हर्मोन बनाउँछ। थाईरोइड ग्रन्थी ‘पुतली’ आकारको हुन्छ र यो तल्लो घाटीको मध्य भागमा हुन्छ। सामान्य मानिसमा यो बाहिरबाट देखिन्न। बाहिरबाट हेर्दा देखिने गरी ठुलो भएमा यसलाई Goiter (गोइटर) वा गलगाँड भनिन्छ र यसो भएमा थाइरोइड ग्रन्थीमा केही समस्या छ भन्ने बुझिन्छ।

थाइरोइड ग्रन्थि (स्रोत www.medicinenet.com)
थाइरोइड ग्रन्थि
(स्रोत http://www.medicinenet.com)

के हो त हाइपोथाइरोइडिजम ?

‘हाईपो’ (hypo) अर्थात ‘सामान्य भन्दा कम’। त्यसैले हाइपोथाइरोइडिजम भन्नाले सामान्य अवस्थामा भन्दा थाईरोइड ग्रन्थिले कम काम गर्नु हो।

Iodine (आयोडिन) र थाईरोइड हर्मोन:

नुनमा हुने ‘आयोडिन’ को सहायताले यो ग्रन्थिले थाईरोइड हर्मोन बनाउँछ। तसर्थ आयोडिन पर्याप्त मात्रामा हुनु महत्वपूर्ण हुन्छ। समग्र बिश्वमा ‘आयोडिन’ को कमि हुनुलाई ‘हाईपोथाइरोइडिसम’ को प्रमुख कारण मानिन्छ।

थाईरोइड हर्मोन किन चाहिन्छ?

थाईरोइड हर्मोनले शरीरको सबैजसो कोषिकाहरुको ‘metabolism’ मा सहयोग पुर्याउछ। यो हर्मोनको साहयताले कोषहरुले ‘अक्सिजन’ (oxygen) को सदुपयोग (efficiently) गर्दछन्। यसबाहेक यसले मुटुको चाललाई सहयोग पुर्याउँछ, हाड-जोर्नीको विकाश, रगतमा ‘Cholesterol’ को मात्रालाई पनि कम गर्नमा मदत गर्छ।

यद्यपि यो बाच्नको लागि ‘अत्यावश्यक’ हर्मोन भने होइन। तर यदि  थाईरोइड हर्मोन गर्भावस्था रहेको बेला आमामा र जन्मिए पछि नवजात शिशुमा कमि हुने हो भने मस्तिष्कको विकाशमा धेरै असर गर्छ र जसका कारण बच्चामा गम्भिर मानसिक सुस्तता ‘severe mental retardation ‘ र होचो हुनसक्ने ‘dwarfism’ देखिन्छ।

हाइपोथाइरोइडिजमका कारणहरु:

हाइपोथाइरोइडिजमका थुप्रै कारणहरु छन्। र यो यस लेखको उदेश्य भित्र नपर्ने हुनाले मैले यहाँ धेरै चर्चा गरिन। यद्यपि अघि भनेझैँ संसारमा ‘आयोडिन’ को कमि हुनुलाई प्रमुख कारण मानिन्छ। जहाँ आयोडिन पर्याप्त छ त्यहा ‘Autoimmune’ (आफ्नै शरीरका भित्रका प्रतिरक्षात्मक कोषिकाहरुले यो ग्रन्थिलाई काम गर्न नदिनु) लाई प्रमुख कारण मानिन्छ।त्यस्तै थाईरोइड ग्रन्थिमा चोटपटक लागेर पुरै क्षमतामा काम गर्न नसक्दा पनि यो हर्मोनको कमी हुन सक्छ।

हाइपोथाइरोइडिजमका लक्षणहरु के-कस्ता हुन्छन् त?

  • बिनाकारण थकान/कमजोरी महसुस गर्नु,
  • छाला खस्रो/रुखो हुँदै जानु,
  • आवाजमा परिवर्तन आउनु/ घोक्रो हुनु
  • बढि जाडो महसुस हुनु,
  • कपाल झर्नु,
  • काममा एकाग्र हुन नसक्नु/ बिर्सनु/ सुस्त हुनु,
  • ‘डिप्रेशन’ जस्तो लक्षण देखिनु,
  • कब्जियत हुनु,
  • खानमा अरुचि तर शरीरको तौल बढ्दै जानु, सुन्निए झैँ लाग्नु,
  • महिनावरीमा गडबडी हुनु र अत्याधिक रगत बग्नु,
  • हात/खुट्टा झमझम गर्नु,
  • थाईरोइड ग्रन्थि बढ्नु र घाँटीमा प्रस्ट देखिनु (Goiter),
  • शरीर पहेँलो भए जस्तो देखिनु।

यी हाईपोथाइरोइडिजमका केही लक्षणहरु हुन्। यी सबै देखिन नि सक्छ वा यी मध्य कुनै नदेखिन नि सक्छ। यहाँ लेखेका लक्षणहरु यदि आफूमा देखा परे चिकित्सकसँग हो/होइन बारे परामर्श लिनुपर्छ। अन्तत: चिकित्सकले बिरामीको शारिरीक जाँच गरी र थाईरोइड हर्मोनको रगतमा मात्रा हेरेर यो रोग रहेको/नरहेको पुष्टि गर्दछन्।

उपचार:

यसको उपचार भनेको शरिरमा कमी भएको थाईरोइड हर्मोनलाई पुन: सामान्य तर्फ लैजानु हो। यसलाई Thyroid hormone replacement therapy भनिन्छ। TSH (Thyroid stimulating Hormone, थाईरोइड ग्रन्थिलाई थाईरोइड हर्मोन उत्पादन गर्न निर्देशन दिने हर्मोन) हर्मोनको लेभल हेरेर चिकित्सकले थाईरोइड हर्मोनको बिभिन्न मात्रा बिरामीलाई दिन्छन्। अनि यस उपचारको उदेश्य देखिएका लक्षणलाई कम गर्दै TSH लाई सामान्य तर्फ लैजानु हो।

सबै लक्षणहरु निर्मुल हुँदै जान करिब ३-६ महिना लाग्न सक्छ। औषधीको मात्रा पनि TSH को मात्रा सँगै घटाउँदै/ बढाउँदै लैजान पर्ने हुनाले रगतमा यसको मात्राको जाँच गरिराख्न पर्ने हुन्छ। अहिलेको guidelines अनुसार सुरुमा लगभग ६-६ हप्तामा र TSH सामान्य अवस्थामा फर्किएको छ र स्थिर छ भने annually (वर्ष-वर्षमा) जाँच गरे पुग्छ।

खाना र शारिरिक क्रियाकलाप:

हाईपोथाइरोइडिजम र खानाको एउटा मात्र सम्बन्ध छ र त्यो आयोडिन हो। आयोडिन हामीले ‘आयोडाइज्ड नुन’ (iodized salt) बाट पाउँछौँ, तथ्याङ्क अनुसार नेपालको धेरै क्षेत्रमा आयो नुनबाट पर्याप्त मात्रामा iodine पुगेको छ। यसको अलावा माटोमा रहेको आयोडिन अन्न/तरकारीको सहायताले पनि प्राप्त हुन्छ। त्यसैले यदि माटोमै आयोडिनको कमी छ भने (जस्तै हिमाली भू-भाग) हाइपोथाइरोइडिजम हुने संभावना बढि हुन्छ।

थाइरोइड हर्मोन कमी हुँदा हाडजोर्नी र मांशपेशीहरु सामान्य अवस्थामा भन्दा केही कमजोर हुने हुँदा अधिक परिश्रम पर्ने काम गर्दा ख्याल गर्नुपर्छ जस्तै खेल खेल्दा वा व्यायाम गर्दा।

उपचारका अन्य असरहरु (side effects)

कुनै औषधी प्रयोग गर्दा त्यसका चाहिएका गुणहरु सँगै हामीले नचाहेका अवगुणहरु आउनु स्वभाविक हो। थाईरोइड Hormone Replacement Therapy अन्तर्गत हर्मोन लिदै गर्दा यस्ता समस्या देखिन सक्छन्:

  • मुटुको गति बढ्नु/ मुटुको चाल थाह पाउनु, छाती दुख्नु
  • आत्तिएको महसुस गर्नु, उत्तेजित भइरहनु
  • थकित हुनु,
  • हातका औलाहरु काप्नु।

माथि औल्याइएका असरहरु थाईरोइड हर्मोनको मात्रा धेरै भएका कारणले हो। तर नियमित TSH को मात्रा हेरि औषधी थप-घट गरिरहने हुनाले यी समस्या आजभोलि एकदम कम मात्र देखिन्छन्। भनिएको मात्रा भन्दा बढि खानु वा ‘Follow up’ मा नगएर आफ्नै इच्छा अनुसार औषधी लिदै गर्नु वा चिकित्सकले आफ्ना बिरामीलाई यसका वृहत रुपबारे प्रष्ट सँग नबुझाउँदा समेत यस्ता समस्या आउन सक्छन्।

र, अन्त्यमा:

थाईरोइडले हर्मोन बनाउन नसकेको हुनाले Thyroid Hormone Replacement Therapy आजिवन गरिरहनुपर्ने हुन्छ। कुनै बिशेष कारण बाहेक अन्य अवस्थामा थाईरोइड ग्रन्थिले बिस्तारै काम गर्न छोड्छ र यो आफ्नो सामान्य स्थितिमा फर्कन्न। हामीले लिने औषधि त्यही हर्मोनको तयारी रुप (preparation) भएकाले यो खानुपर्यो भनेर दुखी हुनुहुँदैन। बरु औषधी नखादा र यसको सही ढंगले उपचार नगर्दा हाईपोथाइरोइडिजमले मस्तिष्कमै आघात पुराउने ‘Myxedema Coma’ जस्तो एकदम जटिल रुप पनि लिन सक्छ।

सजग रहेर उपचार गर्ने हो भने यसको ‘prognosis’ अन्य थुप्रै रोग भन्दा धेरै राम्रो देखिन्छ। अर्थात, नियमित औषधी खाने हो भने हाइपोथाईरोइडिजमका नकारात्मक असरहरु देखिने सम्भावना अति न्युन हुन्छ।

Contributed by: Bishal

(The writer is a medical graduate from B.P. Koirala Institute of Health Sciences. He does not claim to be a specialist from the concerned field. The health information provided above is solely based on various medical literature, research and textbooks.  The purpose of this article is to make people aware about this medical condition. Any kind suggestions or queries can be sent to the writer at bishalbnks@gmail.com)

Advertisements