वैशाख १२ र त्यसपछि २९ गतेको भुईँचालोले हामी सबैलाई त्रस्त बनाएको छ। यसपछि सबैभन्दा धेरै कुरा गरिएको विषय होला, घर कसरी केके सामग्रीले बनाएदेखि भुकम्पप्रतिरोधी हुन्छ। ठाउँठाउँका गगनचुम्बी अपार्टमेन्टहरु र ठूला व्यापारिक भवनहरु पनि चिरा चिरा परेका भत्केका दृश्यहरु सबैले देखेकै छौँ। त्यस्तै विभिन्न मिडियामा भूकम्पप्रतिरोधी सिमेन्ट,डन्डी तथा अरु निर्माण सामग्रीहरुको प्रचार पनि देखिएकै छ।अब कुरा रह्यो यस्ता सिमेन्ट र रड कसरी बनाए संरचना बलियो हुने हो?कुन रड हाले बलियो हुने हो वा बनाउने प्रक्रिया र कुन सामग्री कसरी हालेर बनाए बलियो हुने हो?कन्क्रिट बलियो हुने सिमेन्टको ब्रान्डले हो या अरु केही छ,प्रचारित जस्तो डन्डी हाल्दैमा हावाहुरी,वर्षा,भूकम्प सबैबाट संरचना सुरक्षित रहने हो?

कुरा सुरु गरौँ , कन्क्रिट कसरी बन्छबाट। सिमेन्ट,बालुवा र रोडालाई चाहिने अनुपातमा पानी मिसाएर घोलेर कन्क्रिट बन्ने कुरा त सर्वविदितै हो,तर यसरी बनाउँदा कति भारवहन क्षमताको चाहिने त्यही अनुसार हिसाब गरेर सिमेन्ट,बालुवा,रोडा र पानी भने मिलाउनुपर्छ। जस्तो बोलीचालीमा भनिने १:२:४ कन्क्रिटको क्षमता M15 ग्रेड अर्थात् १५मेगापास्कल हुन्छ जसको सोझो अर्थ उक्त मिश्रणले बनेको कन्क्रिटको स्ट्यान्डर्ड साइजको क्युबले २८ दिनपछि जाँच्दा प्रति वर्गमिलिमिटर १५ न्युटन वा १.५ केजी बराबरको भार लिन सक्छ।हरेक संरचनाले लिनुपर्ने भारको हिसाब गरेर कुन क्षमताको कन्क्रिट चाहिन्छ त्यो निर्क्यौल गर्नु सुरक्षित निर्माणको पहिलो स्टेप हो।नयाँ भारतिय कोडमा M20 अर्थात २० मेगापास्कल भन्दा कम क्षमताको कन्क्रिटलाई संरचनात्मक निर्माण कार्यमा प्रयोग गर्न नपाईने भनेको छ।

यति बलियो हुने भए किन कन्क्रिटमात्र निर्माणकार्यमा प्रयोग गरे के हुन्छ भन्ने प्रश्न आउला,यहाँ विचारणिय कुरा के छ भने कन्क्रिट जति खुम्च्याउने (compression) भारमा काम गर्न सक्षम छ त्यति नै तन्काउने (tension) भारवहन क्षमता अति कम हुन्छ। यसैले कन्क्रिटलाई अरु सामग्रीले प्रबलित (reinforced) गरेर निर्माणमा प्रयोग गरिन्छ जहाँ तन्काउने र खुम्च्याउने दुबै भार वहन गर्नुपर्ने हुन्छ। यस्ता प्रबलित गर्ने सामग्रीमा स्टील अहिलेको सबैभन्दा प्रचलित निर्माण सामग्री हो जसको तन्काउने भार वहन क्षमता पनि धेरै हुन्छ र कन्क्रिटसँग राम्ररी मिलेर (bonding) भारवहन गर्छ। आफुले निर्माण गर्न लागेको संरचनाले वहन गर्नुपर्ने भारको पुर्ण परिमाण र प्रकार हेरेर कन्क्रिट ग्रेडका साथै प्रबलित गर्ने स्टीलको पनि क्षमता थाहा पाइन्छ र बजारमा उपलब्ध ग्रेडहरुबाट (Fe415, Fe500) छानेर निर्माणमा प्रयोग गरिन्छ।यहाँ Fe 415 भन्नाले भारतिय कोडअनुसारको ४१५ मेगापास्कल क्षमताको स्टिल भन्ने बुझिन्छ।

उत्तम प्रबलित कन्क्रिट डिजाइनमा (RCC design) माथिभनेजस्तो सही अनुपातमा सिमेन्ट, बालुवा, रोडाको हिसाबको साथसाथै उपयुक्त ग्रेडको स्टील छनौट गरिएको हुनुपर्छ। यी संरचना डिजाइन कार्यमा उक्त स्ट्रक्चरले लिने; खासै फेरबदल नहुने भार (dead load) जस्मा स्ट्रक्चर आफ्नै भार हुन्छ;बारम्बार आउने भार (live load) जस्तो घरमा जाने मान्छे,पुलमा सवारी साधन आदिको भार तथा अन्य विशेष भारहरु,भूकम्पले दिने भार,हावाहुरीले दिने भार,हिमपातले हुने भार सबै हिसाब गरेर सोही अनुपातमा संरचनाको साइज र आकार निर्धारण गरिनुपर्छ।

अब कुरा आयो,कस्तो डन्डी, कसरी बनाएको डन्डी बलियो त?सबैजसो स्टील बनाउने फलाममा कार्बन,फस्फोरस, सल्फर जस्ता तत्त्वहरु मिलाएर हो।कार्बन लगायतका यसरी मिसाइने तत्त्वले स्टीलको विशेषतामा फरक ल्याउँछन्,जुन निर्माण र प्रयोगको आवश्यकता अनुकुल बनाइने गरिन्छ।साधारण निर्माणमा प्रयोग हुने स्टील (Mild steel)को भने भारवहन क्षमता नै त्यसको गुणस्तरको मापनको प्रमुख आधार हो।बजारमा पाइने ८ देखि ३२ मिलिमिटरसम्म साइजका यी डन्डीको तोकिएको भार लिने क्षमता छ कि छैन ल्याबमा सजिलै जाँच गर्न सकिन्छ।उत्पादनका सर्वमान्य प्रक्रिया पुरा गरेको र तोकिएको भारवहन क्षमता छ भने प्रचार गरेकै आधारमा कुनै बलियो र कुनै कमसल हुने भन्ने हैन,मात्र ल्याबमा जाँच्दा तोकिएको क्षमता आउँछ कि आउँदैन भन्ने कुरा हो।उत्पादन प्रक्रियाका केही ब्याचमा केही फलामको धाउ (Ore)को कारण, केही मिसाउने अनुपात नमिलेको कारण र केही बनाउँदा गरिने तापिय तथा अन्य ट्रिटमेन्टमा मानविय वा मेसिनको त्रुटीले तोकेको क्षमता नहुने भने हुन सक्छ। त्यस्तो अवस्थामा आफ्नो सुरक्षित निर्माणको लागि अरु उत्पादकको भार वहन क्षमता युक्त सामग्री प्रयोग गर्नु नै बुध्दिमानी हो।

अन्तमा,उपयुक्त ग्रेडको सिमेन्ट,डन्डी;आफ्नो स्ट्रक्चरले लिनुपर्ने भार सुहाउँदो डिजाइन गरिएको कन्क्रिट र त्यही भार अनुसार नै चाहिने मात्रामा तोकिएको भार वहन क्षमता दिने स्टीलको प्रयोग गरी निर्माण गर्नु नै सुरक्षित हुने सर्वोत्तम उपाय हो।सबै तिरबाट सुरक्षित हुनलाई त निर्माण गरिने क्षेत्रको भौगर्भिक स्थिति, माटोको प्रकृति,जमिन मुनिको पानीको अवस्था (Ground water table) पनि त्यति नै महत्वपुर्ण हुन्।

Advertisements