नचाहिने कुरा गर्न जनताका छोराछोरीहरुलाई कारण चाहिन्न, जे पनि भन्दिन्छन। नेपालीहरुको बानी नै छ – ‘थाहा छैन’, ‘आउँदैन’, ‘यो त मेरोलागि नौलो भयो’, आदि नभन्ने।

नचाहिने कुरा गराइहरुमा एक पर्दछ कृषि, र कृषिको (सबै जीवहरुकै भन्दा पनि हुन्छ) आधारभूत विज्ञान। विषादी, मलदेखि लिएर GMO, हाइब्रिड, आदिसम्ममा नबुझिने कुरा धेरै छन तर हामी गफ ठोक्दिहाल्छौँ सबै आफैँले प्रत्युद्पान गरेजसरी। अनि शुरु हुन्छन वाहियात बहसहरु – वाहियात यस अर्थमा कि आधारभूत बुझाइ नै गलत भएर गरिएका बहस के बहस?? अझ अचेल मिडियाले पनि कुरा नबुझी मनपरी लेख्दिने गर्नाले मान्छेहरु झनै उरालिन्छन। गोलभेडाको फरक रङ्गदेखि काउलीको सानो कोभीसम्म तथानाम साद्देहरु प्रस्तुत गरिन्छन। अनि फाल्तु गफ हुन्छन, केहि नाटकहरु मञ्चिन्छन सडकमा, तर ३ दिनपछि सामसुम। यस्तै छ हाम्रोमा। 🙂

अनाहक गफ गराइकै कुरामा भर्खरै नेपाल पुग्दाको कुरा जोड्न चाहन्छु। एक साँझ बनेपाको तरकारी बजार पुगेको थिएँ, ३-४ जना गाउँलेहरु प्याजका रङ्गहरु बारे कुरा गर्दै रहेछन।

कतिलाई थाहा होला/नहोला – प्याजका मुख्यतया ३ रङ्गहरु हुन्छनः रातो (जुन नेपालमा बढी उब्जनी र खपत हुन्छ), सेतो र पहेँलो।

उनीहरु भन्दै थिए – १. यो सेतो प्याज त मल बढी भएर रातोको रङ्ग खुइलिएको भन्चन, के हो कुरो? २. मेराँ त पहेँला प्याज नि फले यो साल, जिएमओ भको बीउ दिए कि के बज्याबानहेर्ले? ३. मलाई चैँ पहेँला प्याजका स्वाद मन परे। राताभन्दा ज्यादै पीरा रछन। आदि-इत्यादि। अरु पनि के के भन्दै थिए, म हिडिँहालेँ।

के हो त प्याजका रङ्गहरु फरक हुनाको कारण?

उत्तर – जेनेटिक प्रक्रिया।

GMO, हाइब्रिड, मल, विषादी केहिले गरेर हैन। जीनहरुको विशुद्ध मिसमास र चलखेलबाट यो हुन्छ।

प्याजमा रङ्ग निर्धारण गर्ने २ जीनहरु हुन्छन, जसलाई ‘R’ र ‘i’ भनौँ। ‘R’ जीन dominant (देखिने) हुन्छ, र रातो रङ्गको pigment बनाउन भूमिका खेली प्याजलाई रातो रङ्ग दिन्छ। रातो रङ्ग हुनलाई कोष (cell) मा ‘R’ जीनको बनोट/प्रकार RR वा Rr हुनुपर्दछ।

तर यहि ‘R’ जीनको recessive allele ‘r’ ले भने रङ्गमा चुहावट गरिदिन्छ (अङ्ग्रेजीमा leaky allele भनिन्छ)। त्यसैले, ‘R’ जीनको प्रकारमा कुनै कोष rr भयो भयो भने उक्त कोष पहेँलो हुन्छ।

Recessive भन्नाले dominant को उल्टो बुझनुपर्दछ -– recessive जीनहरु dominant जीनको उपस्थितिमा सुशुप्त हुन्छन, र प्रभाव देखिन्नन। Allele (अलिल) भनेको एउटै जीनको २ वा सोभन्दा बढी प्रकार भनेर बुझ्नुपर्दछ। उदाहरणः मान्छेको आँखाको रङ्ग कालो बनाउने, वा कैलो, वा रातो वा नीलो के बनाउने हो, एकै जीनमा विभिन्न अलिलहरुले निर्धारण गर्दछन। जीनको नाम ‘आँखाको रङ्ग’ छ भने अलिलहरुको नाम (र तदनुसार काम) ‘कालो’, ‘कैलो’, ‘रातो’, ‘नीलो’, आदि हुन्छन।

‘i’ जीन recessive हुन्छ, तर यसको dominant allele ‘I’ पनि कोषमा हाजिर छ भने inhibitor pigment बनाएर रातो रङ्ग बन्नबाट रोकिदिन्छ। भन्नाले, ‘i’ जीनको प्रकार कोषमा Ii वा Ii भैदियो भने ‘R’ जीनमा कोषको प्रकार RR, Rr, वा rr जुनै होस्, उक्त कोष सेतो रङ्गको हुन्छ, र प्याज सेतो हुन्छ।

सारांशमाः (simplified for one locus) RR वा Rr – रातो

rr – पहेँलो

II वा Ii – सेतो

ii – विशेष भूमिका केहि छैन

माथिको ‘सारांश’ले एउटा जीनको उपस्थितिको मात्र कुरा गर्दछ। अलि माथि भनेँ, प्याजमा रङ्ग निर्धारण गर्ने जीनहरु दुईवटा हुन्छन। दुवै जीनहरुको सम्मिश्रण, चलखेल, आदिबाट मात्र कुन रङ्ग बन्दछन भनेर निर्धारण हुन्छ। त्यसैले, अब हेरौँ, प्याजको कुनै कोषमा यी जीनहरुबीच के हुन्छ, र कसरी फरक फरक रङ्गहरु देखिन्छन।

माथि लेखिएको कुरा तलको चित्रमा हेरेर थप बुझ्न सकिन्छ। उदाहरणको लागि पहिले पहेँलो प्याज लिउँ।

‘R’ जीनको बनोट rr छ – जसको अर्थ यो हो कि रातो pigment कोषमा बन्दैन। तर बनेको भए पनि रातोलाई रोक्न सक्ने ‘i’ जीनको II वा Ii बनोट छैन। यसर्थ, कोषमा रहेको rr जीन, जसले रातो रङ्ग हल्का चुहाउँछ (leaky), ले गर्दा प्याजको रङ्ग पहेँलो हुन पुग्दछ।

अब RRIi प्रकारको सेतको प्याज हेरौँ। ‘R’ जीनमा रातो रङ्ग बनाउन सक्ने RR भएपनि ‘i’ जीनको प्रकार Ii भएकाले कोषमा रातो रङ्गको उत्पादन Ii ले रोकोदिन्छ (inhibitor त्यसैले भनेको), र प्याज सेतो हुन्छ। ‘i’ जीन II वा Ii नभएको खण्डमा RR वा Rr ले रातो रङ्ग बनाउन सक्छन, र प्याज रातो हुन्छ।

प्याज कस्तो उम्रन्छ भन्नेमा ब्याडमा कस्तो बीऊ लगाइएको छ भन्नेमा भर पर्दछ। अझ एक साल दुई खालका प्याज फलाएर, फुलाएर निस्केको बीऊ अर्को साल बेर्ना उमार्न प्रयोग गरियो भने रङ छिसमास हुने लगभग पक्का छ।

कसरी बन्छन त रङ्गिन प्याज??
कसरी बन्छन त रङ्गिन प्याज??

जेनेटिक्सका कारण सेतोःरातोःपहेँलो १२:३:१ को अनुपातमा हुने देखिन्छन। रङ मिसिने र छुट्टिने कुरा गर्दा, प्याज मानिस भैदिएका भए, कुनै दिन रातो प्याज बढी खपत हुने भएकाले सेतो र पहेँलोले रातो प्याज बढ्ता रुचाइयो, हाम्रो चैँ महत्व नै छैन भन्लान कि नभन्लान? यसैगरी, रातो र पहेँलो प्याजले सेतो प्याज बढी उम्रिएर डाँडाकाँडा ढाक्यो, त्यसैले हाम्रो बीऊ जोगाउनका लागि आरक्षण देऊ भन्लान कि नभन्लान?

कुनै एक प्याज बर्गरमा बढी हालिएको निहुँमा ‘अबदेखि म पनि तरकारीमा जे जसरी फकाए पनि जाँदिन, मेरो हकको कुरा!’ भनेर कुनै अर्को रङ्ग ठिस बनेर निस्केला कि ननिस्केला हँ?

सेतो प्याज, रातो र पहेँलो प्याजप्रति रेसिस्ट होला कि नहोला? ऊ गोरो, अरु colored. हाहाहा।

=====

(लेखक वनस्पति विज्ञानका अनुसन्धानकर्ता हुन् । ट्विटराँ @ma_jujuman का रूपमा परिचित  उनी आफुलाई झारपात लेखक  भन्न रुचाउँछन् ।  उनको ब्यक्तिगत ब्लग  http://jujumaan.wordpress.com हो )

Advertisements