असिमित घाँसे मैदान, भयानक जनावरहरु, हरेक दिनको दौड अर्को एक दिन बाँच्नको लागि। खानेकुरा? कहिले भेटिन्छ, कस्तो भेटिन्छ ठेगान छैन। अग्लो घाँस बिच दुइ खुट्टाले दौडिने बाहेकको विशेषता; न त मृग, घोडा जस्तो तेज दौडिन सक्ने क्षमता छ, न त अर्नाको जस्तो सिङ वा बँदेलको जस्तो दाह्रा, अनि थिएन बाघ वा सिंहको जस्तो शिकार गर्न सक्ने क्षमता। यो हाम्रै कथा हो लाखौँ वर्ष पहिलेको, साधारण ढुङ्गे औजारका भरमा खाना देखि सुरक्षा व्यवस्था गर्नु परेको मान्छेलाई अरु जनावरको भिडबाट अलग बनायो एउटा नयाँ प्राकृतिक प्रक्रियाले जसलाई मान्छेले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्ने भयो।

tumblr_moavmezabh1r2nfqho1_500
Fire

‘आगो’, जस्ले फेर्यो मान्छेको इतिहास, त्यसको कथा हो यो। झन्डै १० लाख वर्ष पहिलेबाट मान्छेले आगो आफ्नो  इच्छा अनुसार चलाउन सक्ने भएको भनिए पनि, आदिमानव Homo erectus ले ४-५ लाख वर्ष पहिलेबाट यसको प्रयोग व्यापक गर्न थालेको धेरै विद्वानहरुले मान्छन्।आगोले त्यो समयमा मान्छेलाई खानेकुरा पकाउने सुविधा, जाडोमा न्यानोपन दियो भने आक्रमणकारी जनावरलाई भगाउने साधन पनि बन्न सक्यो। सूर्य पछाडि आगो वा ताप (Heat)  मान्छेले प्रयोग गर्ने मुख्य शक्तिको स्रोतको रुपमा रहेको छ, जुन चुलो देखी Combustion Engine सम्ममा देखिन्छ।

 

कसरी बल्छ त आगो?

इन्धन (fuel) को अक्सिजनसँगको प्रतिक्रिया ( chemical reaction) जसले ताप (Heat) दिन्छ, त्यही नै आगोको आधारभुत रुप हो। यसरी आगो बल्ने प्रक्रियालाई तलको जस्तो त्रिकोणमा परिभाषित गर्न सकिन्छ:

FI
अग्नि त्रिकोण

यस्तो भन्दैमा कुनै इन्धन (fuel) अक्सिजनको सम्पर्कमा हुँदा आगो बलिहाल्नु पर्छ भन्ने हुँदैन। अागो सुरु हुनलाई बल्ने कुरा (काठ, तेल, कागज) एक निश्चित तापक्रममा (ignition temperature) पुगेर विग्रह हुनुपर्छ, त्यसपछि बन्ने उड्ने ग्यास जस्तो पदार्थसँग मात्र अक्सिजनले रासायनिक प्रतिक्रिया गर्छ। यो रासायनिक प्रतिक्रियाबाट ताप र प्रकाश निस्किन्छ जसलाई हामी अनुभव गर्न सक्छौँ। त्यसैले काठ वा कागज बाल्नलाई सुरुमा सलाइ वा लाइटरले सानो टुक्रालाई तताएर बालेपछि अरुतिर आगो सल्किँदै जान्छ अनि केहि बल्न थालेपछि त्यसकै तापले बाँकी काठ तातेर आगो फैलिँदै जान्छ र क्रमिक रुपमा (chain reaction) चलिरहन्छ।माथिको प्रक्रिया हेर्दा, ग्यासलाई अक्सिजनसँग प्रतिक्रिया (Reaction) गर्न चाहिने तापक्रममात्र पुगेपछि तथा तेलहरुलाई केहि तातेर ग्यास बनेपछि बल्न सुरु हुन सक्ने देखिन्छ। त्यस्तै भिजेको कुरा बल्नको लागि पहिले त्यसको पानी सुकेर मात्र बाँकी प्रक्रिया हुनुपर्यो।

 

देखिराखेको कुरा हो,धेरैजसो प्रज्वलनशिल पदार्थहरु कार्बन तथा हाइड्रोजन धेरै भएका तथा अर्ग्यानिक पदार्थहरु हुन्छन्। रमाइलो कुरा के भने,कार्बनजन्य इन्धनहरु पुर्णरुपमा बलेर निस्किने भनेकोे कार्बनडाइअक्साइड ग्यास र पानीको हो, जुन मैनबत्ती बालेर गरिने प्रयोगबाट थाहा पाउन सकिन्छ। (पछि कुनै ब्लगमा) सामान्यतया काठ बाल्दा भने त्यसको सेलुलोज (Cellulose) टुक्रिएर कार्बनजन्य बल्ने कुरा र गोल (Char)-कार्बनको एक रुप, अनि अरुबाट खरानी बन्छ जसमा पोटासियम, क्यालसियम लगायतका पदार्थहरु हुन्छन्। जुन गोललाई पछि फेरि बाल्नको लागि प्रयोग गरिन्छ जस्तो: सेकुवा बनाउनलाई। 😉 आगो बल्दा उठेको तातो ग्यास र धूँवाको मुस्लो जसमा हलुका कण (Particles) माथि गइरहेका हुन्छन (Convection),  त्यसले ज्वालो आकार दिन्छ जुन माथितिर चुच्चो परेको हुन्छ,जुन पृथ्विको गुरुत्व (Gravity) र हावाको चाप (Atmospheric Pressure) ले गर्दा भएको हो। कम गुरुत्व भएको ठाँउमा आगो बाल्ने हो भने ज्वाला झन्डै गोलो हुन्छ नासाले गरेको परिक्षणले भनेको।

 

कसरी निभ्छ आगो?

 

अग्नि त्रिकोणका ३ मध्य कुनै एक कुरा नभए आगो आँफै निभ्छ। अर्थात, बलेको आगोमा अक्सिजन वा इन्धन वा ताप नदिने हो भने आगोको रासायनिक प्रक्रिया रोकिन्छ।

ज्वालालाई कुनै कुराले छोपेर ताजा हावाको सम्पर्क टुटाउने हो भने इन्धन र अक्सिजन बिच प्रतिक्रिया हुन पाउँदैन,मैनबत्ती बालेर त्यसलाई ग्लासले छोपेर हेर्यो भने यो कुरा प्रस्ट देखिन्छ। त्यस्तै आगो निभाउने यन्त्रमा (Fire extinguisher) बाट निस्किने कार्बन डाइअक्साइड ग्यास जुन हावाभन्दा गह्रोँ हुन्छ र बल्ने कुरालाई छोेपेर अरु आगो बढ्नबाट रोक्छ। बलेको कुरा भन्दा धेरै विशिष्ट तापधारण क्षमता (Specific heat capacity)  भएको पानीलाई आगोमा हाल्दा बल्दै गरेको कुराले भन्दा पहिले नै पानीले ताप लिएर बाँकी इन्धन तातेर ग्यास जस्तो अवस्थामा पुग्नबाट रोक्छ जसबाट पनि आगो निभाउन सकिन्छ।आगोमा पानी हाल्दा बन्ने पानीको बाफले पनि बाहिरको हावा आउन रोकेर पनि आगो कम गराउँछ।

 

ल अब भन्नुस त के Adele ले “Set fire to rain” गितमा भने जस्तो पानीमा आगो लाग्ला त?? 😛

Advertisements