म एउटा कथा कथ्दै छु । प्लट तयार छ । कमी छ त केबल मुख्य पात्र को । मेरो कथामा दुईटा बोका छ । एउटा पोको छ र गनेर ठयाक्कै तिनोटा ढोका छ । बोको र पोको सबै ढोका पछाडी छेलिएका छन् एक एक गरेर । पोकोमा के होला त ? पोकोमा सुन छ रे मैले नि सुनेको । ह्याँ निर आएर मेरो कथा रोकिन्छ टक्क सँगले । कथाले दायाँ बायाँ अगाडी पछाडी हेर्छ र फटाफट बाटो काट्छ । हन के भयो कथामा भन्नुहोला कुरा चैं यसो हो, कथा, लेखकको डायरीमा छ । डायरी ब्याग भित्र । ब्याग लेखकले बोकेको छ ।

लेखकको कथा र कथा लेखनमा राम्रो पकडको उदाहरण हो यो भनेर भन्नुस । उसै त कुन पोकोमा सुन भन्थे बुढाहरुले उतै तिर फर्कौं होला कथानक्ता मा ब्रेक लाग्यो भनेर गुनासो आउला फेरी ।

तीन वटा ढोका मध्ये दुइवटाको पछाडी बोका छन् भने एउटाको पछाडी सुनको पोका छ । पात्रको कमी खड्कियो ह्याँ नि आएर फेरी । सुन जित्ने साँच्चैको सुवर्ण अवसर छ । मैले तपाईंलाई त्यो भाग्यमानी बनाई दिएँ लौजा । तपाईं नाँइ भन्नुहोला, फुत्कन खोज्नु होला, काम छ भन्नु होला तर पाउनु हुन्न । लेखक तपाईं कि मपाईं ? लेखोक् ले खोकेसि पुग्यो । दिउसै रात पार्न खोज्नी ? ए बाबा हुन्छ नि एउटा ।

कार्यक्रम चलाउने जिम्मा मैले लियोनार्दो दि क्यापरियो लाई देको छु । को छिर्यो यो कथामा बिदेशी चलखेल भनेर सोच्नुहोला धेरै नसोच्नुस न खुरु खुरु पढ्नुस तपाईं पाठकिय मर्यादा कायम राख्नुस म लेखकिय स्वतन्त्रता कायम  राख्छु । फेरि सम्झाउनु परो तपाईंलाई लेखक को भनेर ? बात करते हें । तेत्तिकै आरोप लाउनी ? बिदेशी चलखेल रे । जे कुरामा नी अड्को नथाप्नुस न ओस्कर पाइएन भनेर रोइराथ्यो केटो मैले थुमथुम्याउन लाई ल्या हुम् के ।

लियोनार्दो अगाडी उभिएर तपाईंलाई हाँक दिँदैछ लु छान यी तीन मध्ये एउटा ढोको एउटाको पछाडी सुनको पोको , बाँकि दुइ पछाडी गनाउने बोको ।

तपाईं गम खानु हुन्छ (नोट: सुपर ग्लु होइन )

choice
कुन ढोका पछाडि होला त सुनको पोका?? (courtesy: @zappylily)

एक छिन रोकौं है अलि कति पलट ट्विस्ट गर्न परो कथामा । बोको गनाएको सुघेरै पोको जित्नुहोला भन्ने डर लाग्यो मलाई । मैले सन सिल्क स्याम्पु किनेर ल्याएँ र दुबै बोकोलाई बेस्सरी न्वाईँदिएँ । यो लेखक लरोतरो खाल्के होइन अलि धेरै नै ईन्टेलिजेन्सी, ट्यालेन्सी र ह्यान्सम नी छ है । तपैंले डाहा गरेर पाउनु हुन्न हेर्नुस । 😀

तपैंले पहिलो ढोका छान्नु हुन्छ तेसको नाम मैले A  ढोका (ए ढोका!!) राखिदिएँ । तपैंले जुन सुकै ढोका छाने पनि लियोनार्दोले एउटा ढोका आफैंले खोलेर देखाइदिने नियम छ ह्याँ । तपैंले छानेको भन्दा बाहेकको ढोका खोल्छ नि उस्ले है बुझ्नुस फेरी । अनि लियोनार्दोले बोका भएकै ढोका छानेर खोल्छ नि ।

अघि एउटो कुरो छुटेछ भन्न । यो कथा साईफाइ पलट नी छ है बिज्ञान सम्बन्धित ब्लगाँ छापिने कुरो नि साईफाइ नभएर भो त ? लियोनार्दोको आखाँलाई यस लेखकले विशेष एक्सरे विकिरण युक्त चेश्माले सुसज्जित पारेको छ जसले गर्दा उ कुन ढोका पछाडी के छ भनेर था पाउनी बिज्ञानमा पारंगत छ ।

“ढोका बिज्ञानले धोका दिँदैन नदिए सम्म”

                       -लेखक

छुस्स महावाणी नि राख्दिहाल्या नि यस्सो । ह्याँ निर अब तपाईं सँग दुईटा बिकल्प आइलाग्छ है ध्यान दिनोस् । कि त तपैं अघि नै आफूले छानेकै ढोका नै ठीक भनेर त्यसैमा कायम रहन सक्नु हुन्छ कि त बाँकि भएको (लियोनार्दो ले खोलेको बाहेकको) ढोका तिर सर्न सक्नुहुन्छ ।

अब भन्नुस तपैं के गर्नुन्छ ? पहिले छानेको ढोकानै ठीक होला की बाँकि ढोकामा सर्दा फाईदा होला ?

अब यो प्रश्नको उत्तर आए कथा अगाडी बढ्ला के रे नत्र त कथा सक्यो हेर्नुस । यो लेखक अलि सन्कि नी छ के । 😛

Advertisements