सिरिया, इराक र इजरायल प्यालेस्टाइन बाहेक विश्वको ध्यान अहिले एक नयाँ सन्त्रासमा छ, एक सङ्क्रामक रोगको रुपमा। अचेल संचारमाध्यममा इबोला भाइरसको चर्चा धेरै सुनिन्छ ।  यो के हो? कति खतरनाक छ? नेपाल कति जोखिममा छ? जस्ता प्रश्नहरू उठ्ने गर्छन् ।निकै खतरनाक र छिट्टै महामारीको रूप लिन सक्ने इबोला भाइरस रोग, यसको सर्ने तरिका, लक्षण र बच्ने तरिकाहरूको बारेमा सबैले जानकारी राख्नु पर्ने देखिन्छ ।
सन् 1976 मा पहिलो पटक सुडान र जायर (हालको कंगो) देशमा मानिसमा इबोला भाइरस रोग (EVD) भएको पत्ता लगाइएको थियो । संक्रमित जंगली जनावरहरू विशेषगरी  चिम्पान्जी, बाँदर र फलफुल खाने चमेराहरूको छोए चलाएर या काँचो मासु सेवनले गरेर यो भाइरस मानिसमा सरेको आशंका गरिएको छ । हालसम्म इबोलाभाइरसका विभिन्न पाँच प्रजातिहरु पत्ता लगाइएको छ र यिनीहरूको बारेमा अनुसन्धान अझै जारी छ ।

(चित्र Wikipedia बाट लिइएको हो।)

इबोलाको विगत
पहिलोपल्ट सन् 1976 मा सुडानको जारा (Nzara ) र हालको कंगो गणतन्त्रको याम्बुकु(Yambuku ) भन्ने ठाँउमा इबोला भाइरसको संक्रमण देखिएको थियो। हालको कंगोलाई पहिले जायर (Zaire ) भनिन्थ्यो; त्यहि देशको याम्बुकु गाँउ इबोला नदिको नजिक रहेकाले त्यस भाइरसको नाम जायर इबोलाभाइरस (Zaire ebolavirus ) रहन गएको हो ।1976 मा सुडान र कंगोमा  फैलिएको महामारिले संक्रमित 602 मध्ये 431 मानिसको ज्यान लिएको तथ्याङ्क छ । त्यसपछि विभिन्न समयमा पश्चिम अफ्रिकाका देशहरूमा यो रोग देखिदै आएको थ्यो । बिशेषगरि 2007 मा युगान्डा र कंगो मा भएको महामारिमा संक्रमित 413 मध्ये 224 को मृत्यु भएको तथ्याङ्क छ । त्यस्तै सन् 2012 मा युगान्डा र कंगो मै 88 जना संक्रमित पाइएकोमा 50 जनाको मृत्यु भएको थियो ।

अहिलेको महामारी कसरी सुरू भयो?
हालसालै सन् 2014 को फ्रेब्रुअरीमा  गुयनामा इबोला भाइरस संक्रमण पाइएको थियो । त्यसपछि गुयनाका छिमेकि देशहरू लाइबेरिया र सिएरा लियोन हुदै नाइजेरियासम्म यो रोग फैलिएको थियो । बिशेषगरि सर्वसाधारण र स्वास्थ्यकर्मीमा समेत यो रोगका बारेमा पर्याप्त जानकारी नहुनु, पर्याप्त स्वास्थ्य सुविधा नहुनु जस्ता कारणले यो रोग छिटो फैलिएको अनुमान गरिएको छ । सिडिसि को तथ्याङ्कअनुसार अगस्ट 21 सम्ममा करिब 2473 जनामा रोग भेटिएकोमा 1350 को मृत्यु भएको तथ्याङ्क छ ।यससम्बन्धि तथ्याङ्क यहाँ हेर्नुहोस् र अहिलेसम्मको समयरेखा यहाँ हेर्नुहोस्

(चित्र WHO को वेबसाइटबाट लिइएको हो।)

कसरी सर्छ इबोला?
संक्रमित जनावरहरुबाट मानिसमा र मानिसबाट मानिसमा यो रोग सर्नसक्छ। मानिसबाट मानिसमा सर्ने भएर नै यो रोग समुदायमा तिब्र रुपमा फैलिन सक्छ।
संक्रमित मानिसको रगत, विर्य, पसिना, पिसाब, थुक आदि शारिरिक स्राव (body fluids) बाट स्वस्थ मानिसमा इबोला भाइरस सर्ने गर्छ । इबोलाको उपचार भैसकेको करिब 61 दिनपछि मात्र मानिसको विर्यबाट इबोला भाइरस हट्ने गर्छ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीहरु जो बिरामीको रगत, पसिना, आदिसँग सम्पर्कमा आउने गर्छन् तिनीहरुलाई पनि यो रोग सर्न सक्ने निकै ठुलो सम्भावना छ । हावाको माध्यमबाट यो रोग नसर्ने भनिएतापनि यसबारे पुर्ण अनुसन्धान भइसकेको छैन।सिएरा लिओनमा यो रोगको उपचार र अनुसन्धानको नेतृत्व गरिरहेका शेख उमर खानको गत जुलाई 29 मा मृत्यु भएपछि यसको अनुसन्धान समेत केहि प्रभावित भएको छ ।

अनुसन्धान भइरहेपनी यो रोग बाट बच्न हालसम्म कुनै किसिमको खोप(vaccine) मानिसहरुको प्रयोजनकोलागि स्वीकृत छैन।

लक्षणहरु के हुन्?
सामान्यतया सुरूमा तिब्र रुपमा ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने,पखाला लाग्ने हुन्छ। केहि दिन पछि बान्ता हुने, अत्याधिक पखाला लाग्ने, शरिरमा राता दागहरू (निलडाम) देखिने जस्ता लक्षणहरु देखिन्छन्। यसले कलेजो र मृगौलालाई असर गरेर ती अङ्ग सम्बन्धी रोगहरूको लक्षण पनि देखिन्छ। केहि बिरामीहरुमा इबोला भाइरसले आन्तरिक र बाह्य रक्तस्राव गराँउछ।

उपचार के? बच्ने कसरी?
यो रोगका प्रारम्भिक लक्षणहरू अरू रोगहरू जस्तै मलेरिया, टाइफाइट ज्वरो, भाइरल ज्वरो, हेपाटाइसिससँग मिल्ने गर्छ । त्यसकारण यी रोगहरू हुन् कि भनेर सुरूमा परिक्षण गर्ने गरिन्छ । त्यसपछि प्रयोगशालामा इबोलाका विभिन्न परिक्षणहरू गरिन्छ।
यस रोग को कुनै ठोस उपचार नभएकोले बिरामीहरुलाई उपयुक्त सहयोगी स्याहार (supportive care)  गर्नु नै उपचार को मुख्य बिधि हो।  यस क्रममा रोगीलाई जिवनजल जस्ता पुनर्जलिय झोल (oral rehydration solution)  ख्वाउने तथा सुइबाट दिने  साथै पोषणको पनि ध्यान दिनुपर्छ ।
रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु ठिक हो। बिरामीसंग लसपस नगर्ने,मासु र दुधजन्य पदार्थहरू राम्रोसंग पकाएर खाने, अस्पताल वा बिरामीका रगत, विर्य, पसिना हुनसक्ने स्थानमा जथाभावि नछुने आदि गरेर यो भाइरसको संक्रमण बाट बच्न सकिन्छ ।  फिनाइल, इथर, मिथाइल अल्कोहलले इबोला भाइरस मर्ने गर्छ । त्यस्तै साबुनपानी, तातो र सुख्खा खरानी जस्ता क्षार (base) हरूले भाँडा माझ्ने, घर वरिपरि सफा गर्ने पनि गर्न सकिन्छ ।करिब 60°C मा एकघन्टासम्म खानेकुरा पकाँउदा वा करिब पाँचमिनेट सम्म उमाल्दा इबोला भाइरस नष्ट हुने गर्छ ।

नेपालमा कति जोखिममा?
इबोला भाइरसको मृत्युदर निकै उच्च, करिब 90% रहेको छ । मानिस बाट मानिसमा तिब्र गतिमा फैलिन सक्ने यो रोगले नेपाल मात्र हैन विश्वको कुनै पनि देशमा फैलन तथा महामारी सिर्जना गर्नसक्छ। उचित साबधानी लिइएन भने स्थिति भयावह पनि हुन सक्छ।  भारत र नेपालको खुल्ला सिमाना र दैनिक हजारौँको ओहोरदोहोर हुने भएकोले भारतमा आइपुगेमा इबोलाभाइरस नेपाल भित्रने सम्भावना उच्च रहन्छ । हालसम्म नेपालमा यो रोग नदेखिएकोले उचित सावधानीले यो रोग नेपाल छिर्नबाट रोक्न सकिन्छ।  यसबाट बच्ने प्रमुख उपाय भनेकै संक्रमित देशबाट नेपाल छिरेकाहरूलाई एयरपोर्टमा तथा प्रमुख नाकाहरुमा नेपाल भित्रिने सबैलाइ जाँचेर क्वारेन्टाइन गरी स्वस्थ भएको प्रमाणित नभएसम्म समाजमा घुलमिल हुन नदिनु हो । न्युन चेतनास्तर र रोगको बारेमा सचेत नभएको अवस्थामा  यो रोग चाडै फैलन सक्छ । रोग नेपाल भित्रिहालेमा योसँग लड्नसक्ने प्रभावकारी उपचार संयन्त्र छ त? यसबारेमा सोच्ने बेला भएको छ । त्यसकारण इबोला भाइरसबारे बुझौँ र अरूलाई पनि बुझाऔँ ।।

(यो ब्लग लेख्दा स्वास्थ्यक्षेत्रका विशेषज्ञको सल्लाह लिइएतापनि साधारण जानकारीका लागि पोस्ट गरिएको हो।)

Advertisements