सामाजिक सन्जाल तथा सन्चार माध्यममा सुनिरहेका केहि कुरा

*विचार पुरै फेरिनु ३६० डिग्रीले फेरिनु हो त?
*पानीको बहाव (Discharge) र आयतन (Volume) बारे नाप्ने एकाइ (Measuring unit) क्युमेक,क्युसेक के हो?

१.लागौँ पहिलो कुरातर्फ, यहाँ ३६०डिग्री लेखेर खास विचार उल्टो कोणतर्फ मोडियो भन्न खोजिएको थियो। सरल रुपमा भन्नुपर्दा कोण भनेको  एउटा रेखाबाट अर्कोसम्म पुग्न कति घुम्नुपर्छ त्यसको मापन हो र कोण नाप्ने एकाइ हो डिग्री, जुन संसारमा अहिले साधारण प्रयोगमा सबैभन्दा बढी प्रयोग हुन्छ। अलि कम प्रचलनमा रहेको ग्रेड वा गोन (दसमलव पध्दतिमा आधारित) र वैज्ञानिक काममा रेडियन प्रयोग भएपनि चलनचल्तीमा ६०मा आधारित पध्दति डिग्री नै छ।
माथिका सबै कोण नाप्ने एकाइहरु सतहीकोण (plane) नाप्न प्रयोग हुन्छन् र यी  पध्दतिहरु वृत्तमा (Circle) आधारित भएर परिभाषित छन।
६० मा आधारित डिग्री पध्दतिमा एक पुरा फन्को वा वृत्त बराबर ३६० डिग्री लिएर हिसाब गरिन्छ जब कि ग्रेड वा गोनमा एक पुरा फन्को ४०० ग्रेड वा गोनले बनाउँछ। त्यस्तै एक रेडियन भने वृत्तको अर्धव्यास (Radius) बराबरको चापले (Arc) बनाउने कोणको रुपमा परिभाषित छ, जसअनुसार एक पुरै फन्को बराबर 2π रेडियन हुन आउँछ।

वृत्तमा कोणको स्थान
वृत्तमा कोणको स्थान,कोणहरु डिग्रीमा छन् (चित्र mathsisfun.com बाट लिइएको हो)

यो चित्रबाट प्रस्ट देख्न सकिन्छ, ठ्याक्कै उल्टो भनेको १८० डिग्री हुन्छ भने ३६० डिग्री भनेको त पुरै फन्को घुमेर पहिलेकै ठाउँमा आइपुग्दा हुन्छ त्यसैले, विचार अर्कोतिर मोडिनुलाई १८० डिग्रीमा गएको भन्नु आवश्यक छ।

२.बहाव (Flow/Discharge) भन्नाले कुनै ठाउँबाट एकाइ समयमा बग्ने आयतनको मात्रा भन्ने बुझिन्छ।त्यस्तै वस्तुले लिएको ‘स्पेस’लाई आयतन (Volume) मानिन्छ। पानीको आयतन र बहाव नाप्नको लागि विभिन्न एकाइहरु प्रयोगमा छन, ती एकाइहरु कुनै मात्राको आधारमा त कुनै नाप्ने पध्दति अनुसार फरक छन्।

सामान्यतया, कम आयतनलाई मिलिलिटर,लिटरमा नापिन्छ भने धेरै लाई किलोलिटरमा तर संसारमा धेरै देश र वैज्ञानिक काममा प्रयोग हुने SI पध्दतिमा भने आयतन (Volume) को एकाइ घनमिटर (Cubic meter, m^3) हो।बहाव नाप्ने एकाइबारे कुरा गर्दा SI पध्दतिमा घनमिटर प्रतिसेकेन्ड, FPS मा घनफिट प्रतिसेकेन्ड त्यस्तै लिटर प्रतिसेकेन्ड, ग्यालन प्रतिसेकेन्ड पनि प्रयोगमा छन्। अहिले चर्चामा देखिएका बहावमा एकाइ (Unit) भने क्युसेक (Cusec) र क्युमेक (Cumec) हुन्, जुन जलस्रोत र इन्जिनियरिङ क्षेत्रमा बढी प्रयोग हुन्छन्। क्युसेक, घनफिट प्रतिसेकेन्ड (Cubic Feet per second) को छोटो रुप हो भने क्युमेक घनमिटर प्रतिसेकेन्ड (Cubic meter per second) को छोटो रुप हो। यी दुइको सम्बन्ध हेर्दा १ क्युमेक बराबर ३५.३१ क्युसेक्स जति हुन आउँछ। नेपालमा नदीको बहाव तथा जलवायु सम्बन्धि कार्य गर्ने सरकारी निकाय जल तथा मौसम विज्ञान विभागले सङ्कलन गरेर प्रकाशित गर्ने डेटामा बहावको एकाइ घनमिटर प्रतिसेकेन्ड (m^3/s) मा दिइएको हुन्छ, जसलाई क्युमेक भन्न सकिन्छ। जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा विभिन्न नदीहरुमा रहेका मापन केन्द्रको रियलटाइम पानीको सतह र बहाव हेर्नुस।

Advertisements